रत्नेचौर–भकुन्डे सडक: योजना पूरा नहुँदै भत्कियो कालोपत्रे

भकुन्डेका बासिन्दाले सडक निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तरअनुसार काम नभएको भन्दै प्रश्न उठाएका छन्।

भकुन्डे– म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुन्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ। 

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुन्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डीबीएसडी प्रविधिको कालोपत्र भएको थियो। 

बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको स्थानीय भीमबहादुर पौडेलले बताए। “पहिलो पटक कालोपत्र गर्दा दोस्रो पटक सुधार्ला भन्ने आशा थियो,” उनले भने, “तर दोस्रो पटक कालोपत्र गरिएपछि पनि बिटिमुनले चिप्स नसमातेपछि खाल्डै खाल्डा भएको छ।”

भकुण्डेका बासिन्दाले सडक स्तरोन्नति योजना निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तरअनुसारको काम नभएको भन्दै प्रश्न उठाएका छन्। स्थानीय पूर्णबहादुर सुवेदीले सडक निर्माणमा देखिएको कमजोरीको विषयमा सम्बद्ध कार्यालयमा गुनासो गर्दा पनि सुनुवाइ नगरेको गुनासो गरे। 

उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो। बिमिराबोट–भकुन्डे–तमाने खण्डको सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ। 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सडक निर्माणमा भएको लापरबाहीका बारेमा अनुगमन समितिले लिखित पत्र पठाउँदासमेत बेवास्ता भएको बताउँदै सडक डिभिजन र ठेकेदारलाई सुधार गर्न लगाउने बताए। 

सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सञ्चालित योजनाको आधाभन्दा बढी भाग दोस्रो चरणको पनि कालोपत्र भइसकेको छ। नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डीबीएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ। 

उक्त योजना निर्माण गर्न २०७९ भदौमा गजेन्द्र–नयाँबाटो जेभीले २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो। ३० महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ। २०५६ सालमा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ३ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्। 

सडकको निरीक्षण गरेर कमजोरी भेटिएमा सुधार गर्न लगाउने सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीको भनाइ छ।