निर्वाचन आयोगले निर्धारण गर्‍यो समावेशी समूहको प्रतिशत

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फ उम्मेदवार सिफारिस गर्दा पछिल्लो जनगणनाको तथ्यांकका आधारमा समावेशी समूहको प्रतिशत मिलाउनुपर्ने हुन्छ।

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए।

सरकारले विसं २०७८ को जनगणनाको प्रतिवेदनअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिमको जनसंख्याको प्रतिशतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची (१) लाई संशोधन गर्न सिफारिस गरेको थियो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४ (पहिलो संशोधन) अध्यादेश, २०८२ ले गरेको व्यवस्थाअनुसार आयोगले समानुपातिक प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवार सिफारिस गर्दा पछिल्लो जनगणनाबमोजिम समावेशी समूहको प्रतिशत मिलाएर सिफारिस गर्नुपर्ने निर्णय गरेको जानकारी दिए।

राष्ट्रिय तथ्यांक कार्यालयद्वारा गरिएको २०६८ सालको जनगणनामा दलितको जनसंख्या १३.८ रहेकामा २०७८ को जनगणनामा सामान्य घटेर १३.४ भएको छ। आदिवासी/जनजातिको अघिल्लो जनगणनामा २८.७ रहेकामा पछिल्लोमा २८.२ रहेको छ। खस आर्य समूहको अघिल्लोमा ३१.२ रहेकामा पछिल्लोमा सामान्य घटेर ३०.३ पुगेको छ। 

थारू समुदायको ६.६ बाट ६.५ प्रतिशत भएको छ। मुस्लिम र मधेशीको जनसंख्यामा सामान्य वृद्धि भएको छ। विसं २०६८ को जनगणनामा मुस्लिमको ४.४ रहेकामा २०७८ को जनगणनामा ४.९ प्रतिशत देखिएको छ। मधेशी समुदायको १५.३ बाट बढेर १६.३ पुगेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ। आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत गर्नुपर्ने देखिएकाले अध्यादेश जारी भएको हो।

प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसंख्याका आधारमा  समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नुपर्नेछ। 

उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने समयसीमा तोकिएको छ।

दलहरूलाई तालिम लिइँदै
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसंख्याका आधारमा  समावेशी आधार प्रतिशतका आधारमा उम्मेदवार सिफारिस गर्दा अपनाउनुपर्ने विधि र पद्धतिका सम्बन्धमा यही पुस ८ र ९ गते राजनीतिक दलका प्रतिनिधिलाई तालिम दिँदै छ।

आयोगका अनुसार तालिममा उक्त प्रणालीका लागि निर्वाचनमा भाग लिन आवेदन दिएका पुराना र नयाँ दलका प्रतिनिधि सहभागी हुनेछन्।

सोमबार प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल 
यसैबीच, प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानून संशोधनलगायत विषयमा सोमबार सर्वपक्षीय छलफल हुने भएको छ।

यसअघि पनि विभिन्न समयमा यस प्रकारका छलफल भएकामा निर्वाचनको तयारीको पछिल्लो उपलब्धि र प्रयास तथा सरोकार भएका पक्षको धारणा बुझ्न सिंहदरबारमा सोमबार छलफल गर्न लागिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए।