बुटवल–गोरुसिंगे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित

आयोजनाका लागि करिब ३० लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकामा हालसम्म करिब पाँच लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ।

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ। राष्ट्रिय राजमार्ग विस्तार गर्ने आयोजना अघि बढेको एक वर्ष हुन लाग्दा आवश्यक नदीजन्य सामग्री र माटोको अभाव देखिएको हो।

संरचना निर्माणका कामले गति लिए पनि नदीजन्य सामग्री अभाव हुँदा काम प्रभावित भएको छ। आयोजनाका लागि करिब ३० लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकामा हालसम्म करिब पाँच लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ।

बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म करिब ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरी निर्माण भइरहेको छ। आवश्यक नदीजन्य सामग्रीका लागि स्रोतको खोजी भइरहेको निर्माण कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठले जानकारी दिए। उनले यस क्षेत्रका स्थानीय तहहरूलाई सम्भावित स्रोतको खोजी गर्न सहयोगको अनुरोध गरे।

बुटवल–कोठी नदी खण्ड
बुटवलदेखि रुपन्देहीको सैनामैना सालझण्डीदेखि कपिलवस्तुको सीमावर्ती क्षेत्र कोठी नदीसम्म पहिलो भागको रूपमा सडक विस्तार भइरहेको छ। यो खण्डमा मात्रै आठ लाख ७१ हजार घनमिटर नदीजन्य सामग्री आवश्यक पर्ने इन्जिनियर श्रेष्ठले बताए। हालसम्म यहाँ जम्मा ६३ हजार घन मिटर मात्रै सैनामैना नगरपालिकाको पहलमा प्राप्त भएको छ।

अरू सामग्रीका लागि बुटवल उपमहानगर लगायतसँग आग्रह गरे पनि सुनिश्चित हुन सकेको छैन। यही खण्डमा माटो भर्नका लागि आवश्यक आठ लाख ७९ हजार घन मिटर माटोमध्ये हालसम्म २७ हजार घन मिटर मात्रै संकलन भएको छ।

हालै पाल्पाको तिनाउ गाउँपालिकासँग एक लाख घन मिटर माटो उत्खनन गर्ने सम्झौता भएपछि केही सहज भएको आयोजनाका साइट इन्जिनियर अशोक पौडेलले बताए। यही खण्डको चार किलोमिटर क्षेत्रमा माटो भर्ने काम भइरहेको छ।

२५ किमीको खण्डमा ६७ वटा ‘बक्स कल्भर्ट’मध्ये ३७ वटाको निर्माण अन्तिम चरणमा पुगेको, दुई वटा ‘एनिमल क्रसिङ’ लगभग सम्पन्न भइसकेको, १२ वटा ठूला पुलमध्ये अधिकांशमा पाइलिङसहितको काम अन्तिम चरणमा पुगेको र ६ वटा बक्स ब्रिजमध्ये दुई स्थानमा निर्माण भइरहेको आयोजना कार्यालयका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिए।

सो खण्डमा आवश्यक १९ हजार प्रिकास्ट नाली निर्माण पूरा भइसकेको छ। पाँच वटा ‘भेहिकल अन्डरपास’ को काम शुरू भइसकेको छ। यस भागअन्तर्गतको सडक खण्डमा हालसम्म करिब १७ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।

कोठी नदी–बेल नदी खण्ड
कोठी नदीदेखि कपिलवस्तुको इमिलिया नजिकैको बेल नदीसम्मको सडकखण्डलाई आयोजनाको दोस्रो भाग मानेर काम भइरहेको छ। यहाँ पनि सामग्री अभाव उस्तै छ। यद्यपि पहिलो भागमा भन्दा केही सहज छ।

यो खण्डमा मात्रै छ लाख २० हजार घन मिटर माटो आवश्यक भएकामा हालसम्म तीन लाख घन मिटर प्राप्त भएको छ। जुन बुद्धभूमि नगरपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाबाट आपूर्ति भइरहेको छ।

नदीजन्य सामग्रीतर्फ पाँच लाख घन मिटर आवश्यक भए पनि हालसम्म ९० हजार घन मिटर मात्रै उपलब्ध भएको छ। यो खण्डमा ६६ वटा बक्स कल्भर्टमध्ये २६ वटा, १६ वटा एनिमल क्रसिङमध्ये १३ वटा, ठूला आठ पुलमध्ये ६ वटा अन्तिम चरणमा पुगेका छन्। दुई वटा बक्स ब्रिजमध्ये एउटामा निर्माण भइरहेको छ।

यहाँको १३ किलोमिटर क्षेत्रमा माटो भर्ने काम जारी छ भने ‘प्रिकास्ट नाली’ निर्माण ८० प्रतिशत सम्पन्न भएको छ। यो खण्डमा हालसम्म करिब १९ प्रतिशत भौतिक र १४ प्रतिशत वित्तीय प्रगति भएको इन्जिनियर पौडेलको भनाइ छ। 

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सडक स्तरोन्नति गत माघदेखि गरिरहेको छ। दोस्रो चरणमा बेल नदीदेखि चन्द्रौटासम्म १९ किलोमिटर दूरीको खण्डमा नयाँ ठेक्काको प्रक्रिया चलिरहेको छ।

पूर्व–पश्चिम राजमार्गलाई एशियाली स्तरको बनाउने गरी नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि नै सडकलाई विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गत समावेश गरी सडक विभाग, बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय बुटवलमा स्थापना गरेर काम गरिरहेको छ।

विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर (नेपाली ३५ अर्ब रुपैयाँ) उपलब्ध गराउने सम्झौता भएसँगै राजमार्गको स्तरोन्नति शुरू भएको हो।