जेन–जी आन्दोलनका बेला कतिपय ठाउँमा कर्तव्य छाडेर भाग्नुपर्ने अवस्थामा पुगेको प्रहरीको मनोबल उकास्ने योजना ल्याउनुको सट्टा आईजीपी दानबहादुर कार्की उल्टै नागरिकको विश्वास बिथोल्ने अभिव्यक्ति दिइरहेका छन्।
काठमाडौँ– “फोन त हराउनु भएन नि! फोन किन हराएको? हराउञ्जेल किन ट्वाँ परेर बस्या? खल्तीमा प्वाल किन पार्या? अर्काको घरमा फोनै हराउञ्जेल किन जिल खाया?”
यी वचन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीका हुन्। जेन–जी आन्दोलनका बेला भग्न बनेको ललितपुरस्थित सातदोबाटो प्रहरी वृत्तको भवन नागरिकस्तरबाट पुनर्निर्माण भएपछि मंसिर २८ गते प्रहरीलाई हस्तान्तरण गर्ने कार्यक्रममा प्रमुख अतिथि बनेका आईजीपी कार्कीले नागरिककै उछितो काढेका थिए।
धनमाल हराउने, चोरी हुने कार्य नागरिककै कारण भइरहेको कार्कीको अभिव्यक्ति थियो। मोबाइल हराएर प्रहरीलाई गुहार्न पुग्ने नागरिकप्रति लक्षित गर्दै उनले भने, “फोन नहराउने कुराको चेतना व्यक्ति आफैको हुनुपर्छ। फोन चोर्यो भनेचाहिँ पुलिसकोमा आउने हो। चोरेको कुरा अपराध हो।”
आईजीपी कार्की यतिमै अडिएनन्। “युरोप अमेरिकातिर पनि अनुसन्धानमा लाग्ने खर्चभन्दा सामानको मूल्य कम भयो भने अनुसन्धान नगर्ने भन्ने हुन्छ। हामीले हरायो भनेर आएपछि सुनेर (अनुसन्धान) गरेका छौँ,” उनले भने।
आईजीपी कार्कीले यस्तो अभिव्यक्ति दिनुभन्दा केही बेरअघि मात्रै कमसल प्रवृत्तिका नागरिक भएकाले प्रहरी पनि त्यस्तै भएको बताएका थिए। “जुनसुकै मुलुकको प्रहरी त्यस्तै हुन्छन्, जो त्यहाँका नागरिक हुन्छन्। यहाँका नागरिक सहयोगी हुनुहुन्छ, प्रहरी सहयोगी नै होस्। यहाँका नागरिक सबै गुण्डा भए भने प्रहरीसँग झगडा परिरहला,” यति भनेर भाषणकै बीचमा कार्की फिस्स हाँसे।
घरमा चोरी हुनुमा पनि सुरक्षा प्रणालीको नभई नागरिककै कमजोरी रहेको आईजीपी कार्कीले औँल्याए। “आफ्नो घरको चुकुल लगाउनुहुन्छ, ढकढक गर्यो भने फुत्रुक्क खस्ने किसिमले। चुकुल लगाएपछि त यस्सो घोप्टाउने, दाहिने फर्काउने छ नि त,” उनले भने, “मिलाएर बनाएको त नबुझेर नलाउने, अनि पल्लो घरमा देउसी खेल्दा ट्वाँ परेर हेर्ने। त्यसपछि आफ्नो घरमा चोरले साफ पार्छ।”
नेपाली उखान ‘आफ्नो थैलीको मुख राम्ररी बाँध्नू, अरूलाई चोर नलगाउनू’ शैलीमा आईजीपी कार्कीले नागरिककै हेलचेक्र्याइँलाई चोरीको मूल कारण बताए। तर चोरी रोक्न प्रहरीको भूमिकाबारे एक शब्द बोलेनन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, पछिल्लो पाँच वर्षमा चोरीका घटना धिमा गतिमा बढिरहेका छन्। आव २०७७/७८ मा देशभरि चोरीको संख्या दुई हजार ३८२ थियो। यो संख्या आव २०८०/८१ मा तीन हजार ७५८ र २०८१/८२ मा तीन हजार ६५६ पुगेको छ।
नेपाल प्रहरीले वर्गीकरण गरेका नौवटा अपराधमा चोरी छैटौँ स्थानमा छ। स–साना बेवास्ताले चोरीका घटना हुने सत्य भए पनि कार्कीले सम्पूर्ण दोष नै नागरिकलाई दिए।
उक्त कार्यक्रममा आईजीपी कार्कीले अनलाइन ठगीमा पर्ने पीडितको समेत हुर्मत लिने अभिव्यक्ति दिए। जिन्दगीमा हाल्दै नहालेको चिठ्ठा पर्यो भन्ने विश्वासमा हजार, लाख रूपैयाँ लगानी गर्दा ठगिएको उनको भनाइ छ। “ओटीपी (मोेबाइल ब्याङकिङ कारोबारका लागि ब्यांकले पठाउने वान टाइम पासवर्ड) दिनोस् त १ लाख चिठ्ठा आउँदैछ भन्छ। पढेलेखेकै, विशिष्ट श्रेणीका अफिसर्स नै दंग परेर, लगानी गरेर बस्छन्। पैसा आउँछ भनेर र्याल काढेर बसेका हुँदारहेछन्, नआएपछि लौ म बर्बाद भएँ हेर्नुपर्यो भन्छन्,” उनले भने।
लोभका कारण ठगीको शिकारमा फस्न नहुने आईजीपी कार्कीको आशय थियो। तर उनले ‘र्याल काढ्ने’ जस्तो नागरिकमाथि हेपाहा भाषाको प्रयोग गरे। कुरा बुझाउने शैलीमा प्रस्तुत भएनन्।
डिजिटल कारोबार फस्टाएसँगै अनलाइन ठगी नेपालमा डढेलोजसरी फैलिइरहेको छ। साइबर ब्युरोमा आव २०७९/८० मा अनलाइन ठगीका एक हजार ८१५ उजुरी परेका थिए। यो आर्थिक वर्षको पहिलो पाँच महिनामै चार वर्षअघिको सिंगो सालको भन्दा बढी उजुरी परेका छन्।
तर नागरिकको शान्ति सुरक्षा र मुलुकमा हुने अपराध रोकथामको जिम्मेवारी लिएको प्रहरी संगठनका प्रमुख भने चोरी, अनलाइन ठगीलगायत अपराध बढ्नुमा नागरिकको प्रमुख दोष रहेको अभिव्यक्ति दिन्छन्। अनलाइन ठगी बढ्नुमा नेपालको बैंकिङ प्रणाली, डिजिटल वालेट सेवा प्रदायक कम्पनीको लापरबाही, मोबाइल सिम वितरण गर्ने टेलिकम सेवा प्रदायक कम्पनी र नियामक निकायको खेलाँची मुख्य कारण रहेको तथ्य छ।
आईजीपी कार्कीका माथिका अभिव्यक्ति यस्तो समयमा आएको छ, जतिखेर प्रहरी संगठनले सर्वसाधारणबाट गुमाएको विश्वास अंकुराउन सकेको छैन। प्रहरी प्रधान कार्यालयमा कार्यरत एक उच्च प्रहरी अधिकृत त ‘मोबाइल किन हराएको? चुकुल किन राम्ररी नलगाएको?’ जस्ता अभिव्यक्ति थानेदारले समेत हम्मेसी नदिने बताउँछन्। “त्यो ओहोदाधारीबाट नीतिगत निर्देशन र स्पष्टता अपेक्षा हुन्छ,” उनी भन्छन्, “तर आईजीपी थानेदारको भाषा बोलिरहनुभएको छ।”
सैद्धान्तिक रूपमा आईजीपीले भनेका कुरा सही भए पनि भाषाशैली ओहोदा प्रतिकूल रहेको पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी बताउँछन्। “सैद्धान्तिक रूपमा ढोका राम्रोसँग लगाउनू, सुरक्षामा व्यक्तिले पनि ध्यान दिनुपर्छ भन्नु ठीक हो,” उनी भन्छन्, “तर संगठन प्रमुखले बोल्ने भाषाशैलीले अनर्थ भएको छ। भन्न खोजेको आशय सही भए पनि प्रहरीप्रति नागरिकको विश्वास नभइरहेको बेला नागरिकलाई नै एकोहोरो लाञ्छना लगाउने भाषा प्रयोग त्यो ओहोदामा बसेको व्यक्तिका लागि सुहाउँदो होइन।”
मुलुकको आन्तरिक सुरक्षाको दशा र दिशा निर्धारण गर्ने पद हो आईजीपी। जेन–जी आन्दोलनमा कतिपय स्थानमा आत्मरक्षा समेत नगरी भाग्नुपरेको घटनाले प्रहरी संगठनको मनोबल गिरेको छ।
“यस्तो बेला नागरिकको विश्वास जित्नु मुख्य कुरा हो,” पूर्व गृहसचिव गोविन्द कुसुम भन्छन्, “प्रहरी मात्र होइन राज्यका सबै निकाय, अंगप्रति नागरिकको विश्वास मरिरहेको छ। तत्तत् निकायको व्यवहार र शैलीले यस्तो भएको भनेर बोध हुनुपर्छ। एउटा खराब भएमा सबै खराब भन्ने जनमानसमा परेको छ। सबै खराब छैन भन्ने विश्वास दिलाउन व्यवहार बदल्नुपर्छ।”
आईजीपी कार्की यस्ता अधिकृत हुन्, जसको नेतृत्वमा रहेको उपत्यका प्रहरी कार्यालयबाट जेन–जी आन्दोलनका बेला भदौ २४ गते प्रहरीलाई आत्मरक्षा गर्नसमेत निषेध गरिएको थियो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोलबाट प्रहरीको सञ्चार सेटमा ‘थुनुवाको लिस्ट तयार गर्ने र छोडिदिने, त्यसपछि आफ्नो हतियार, सञ्चार सेट, भेहिकल (सवारी साधन)हरू सुरक्षित राख्ने र आफू पनि सुरक्षित बस्ने, गोली नहान्ने’ भन्ने आदेश आएको थियो।
यो पनि- प्रहरीको आत्मसमर्पण शैलीः हतियार किन छाडियो?
यस्तो आदेशपछि उपत्यकाका अधिकांश प्रहरी युनिटहरू आफ्नो कार्यालय छाडेर हिँडेका थिए। कतिपय प्रहरी भने हतियारसहित र कतिपय हतियार लुकाएर हिँडेका थिए। आदेशको पालना नगरी भीडसँग भिड्ने प्रहरी कार्यालय थोरै मात्रै थिए।
प्रहरीलाई गोली नहान्न र हतियार सुरक्षित राखेर भाग्न भनिएपछि प्रहरीका धेरै हतियार प्रदर्शनकारीका हातमा पुगेका थिए। यी हतियार सबै फेला नपरिसकेको हुँदा आगामी चुनावको प्रमुख सुरक्षा चुनौतिका रूपमा हेरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
