सरकार र मुख्य दलबीच निर्वाचन सफल बनाउने समझदारी

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण बनाउन सरकार र प्रमुख राजनीतिक दलहरूबीच विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।

काठमाडौँ– आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सफल पार्न आवश्यक वातावरण बनाउने विषयमा सरकार र प्रमुख राजनीतिक दलबीच समझदारी भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा भएको छलफलमा यस्तो समझदारी जुटेको हो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, निर्वाचनको वातावरण बनाउन थप विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।

छलफलमा राष्ट्रपति पौडेलले देशको परिस्थिति गम्भीर र संवेदनशील रहेकाले निकासका लागि निर्वाचन घोषणा गरिएको बताए। “यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको साझा दायित्व हो,” प्रेस सल्लाहकार पोखरेलले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने।

राष्ट्रपति पौडेलले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन दलका शीर्ष नेताहरूलाई विशेष आग्रह गरेका छन्। 

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। ‘जेनजी’ आन्दोलनपछि शीर्ष नेताहरूबीच भएको यो पहिलो सामूहिक भेटघाट हो।