दाउन्नेमा वन कार्यालयले भत्कायो अतिक्रमण गरी बनाइएका १४ संरचना

डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार वन र सडक क्षेत्र मिचेर बसोबास गर्दै आएका १२ जनाले निर्माण गरेका घरटहरा मंगलबार भत्काइएको हो।

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका १४ वटा घरटहरा भत्काइएको छ। डिभिजन वन कार्यालय नवलपुरले राष्ट्रिय वन तथा सार्वजनिक सडक क्षेत्र संरक्षणका लागि दाउन्ने बजारदेखि पूर्वतर्फ गरिएको नयाँ अतिक्रमण हटाएको हो।

डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार वन र सडक क्षेत्र मिचेर बसोबास गर्दै आएका १२ जनाले निर्माण गरेका ती घरटहरा मंगलबार प्रहरीको सहयोगमा भत्काइएको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त सडक र वन क्षेत्रमा अवैध रूपमा संरचनाहरू निर्माण गरिएका थिए।

डिभिजन वन कार्यालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले अतिक्रमण हटाउँदै सम्बन्धित पक्षलाई आफ्ना सामग्री तत्काल लैजान निर्देशन दिएको छ।

यसअघि सब–डिभिजन वन कार्यालय दुम्किबासले गत कात्तिक २४ गते अतिक्रमित क्षेत्र खाली गराउन १५ दिने सूचना जारी गरेको थियो। “हामीले पटक–पटक सूचना जारी गरी घरटहरा हटाउन आग्रह गरेका थियौँ, तर त्यसको बेवास्ता भएपछि कानुनअनुसार बल प्रयोग गरी क्षेत्र खाली गराएका हौँ,” अधिकृत अधिकारीले भने।

राजमार्ग विस्तारका क्रममा सडकको तल्लो भागमा थुपारिएको माटोमाथि करिब दुई वर्षदेखि अस्थायी टहरा बनाएर बसोबास हुँदै आएको थियो। राष्ट्रिय वन तथा सार्वजनिक सडक क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ कुनै पनि संरचना निर्माण गर्न पाइँदैन।

डिभिजन वन कार्यालयले राष्ट्रिय वन तथा सार्वजनिक सम्पत्तिको संरक्षण सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै यस्ता अतिक्रमण हटाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।