कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको पुलको ठेक्का २०७५ पुसमा लागेको थियो। सम्झौताअनुसार २०७८ पुसमा सम्पन्न गर्नुपर्ने थियो।

मुस्ताङ– माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षमै निर्माण सक्नेगरी काम भइरहेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ। 

कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको पुलको ठेक्का सम्झौता २०७५ पुसमा भएको थियो। हिमढुङ ठोक्कर एन्ड इमोटल जेभीले ६ करोड ८० लाख रुपैयाँमा ठेक्का लिएको थियो। सम्झौताअनुसार २०७८ पुसमा सम्पन्न गर्नुपर्ने थियो। 

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार सडकको काम सकिए पनि पुल निर्माण लामो समयदेखि हुन सकेको थिएन। निर्माण कम्पनीले प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाएर पुल निर्माण अलपत्र पारेको थियो। कार्यालयले जरीबाना तिराएर ठेकेदारलाई काम लगाएको हो।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका जोड्ने (बेनी–जोमसोम–कोरला)सडकमा १४ वटा पुल सम्पन्न भइसकेका छन्।