काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनका लागि ‘सुन्तला–हाइकिङ’

पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्नेछन्। साथै स्थानीय बगैँचाका बोटबाट ताजा सुन्तलासमेत खान पाउनेछन्।

काभ्रेपलान्चोक– जिल्लामा कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ। विभिन्न निकाय तथा संघसंस्थाको आयोजनामा परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ। 

जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ डेढ दशकपछि सुन्तला–हाइकिङ कार्यक्रम पुनः सञ्चालनमा ल्याउन लागिएको हो। डेढ दशकअघि पनि नमोबुद्ध–बल्थली सुन्तला–हाइकिङ कार्यक्रम आयोजना गरिएको थियो। 

कार्यक्रमअन्तर्गत पदयात्रा मुख्यतया पर्यटकीय क्षेत्र नमोबुद्धबाट बल्थलीसम्म रुट तय गरिएको छ। पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्न पाउनेछन्। साथै स्थानीय बगैँचाका बोटबाट ताजा सुन्तलासमेत खान पाउनेछन्। 

यात्रामा नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सुन्दरताको अनुभव लिँदै बल्थलीस्थित लड्केश्वर महादेवस्थान परिसरको विश्वकै अग्लो त्रिशूललगायत धार्मिक तथा पर्यटकीय विकासबारे अवलोकन गर्न सकिने जनाइएको छ। क्रिसमसको बिदाको दिन भएकाले पैदल यात्रामा १०० भन्दा बढीको सहभागिता रहनेछ। 

यसपटकको प्रवर्द्धनात्मक सुन्तला हाइकिङको अनुभवले आगामी वर्षदेखि  सुन्तलाको सिजनमा एक महिनाकै ट्राभल प्याकेज बनाउने लक्ष्य लिएको होटल एसोसिएसन अफ नेपाल (हान)ले जनाएको छ। यसमा होटल–रिसोर्टका ट्यारिफमा विशेष छुटका साथै अन्य आकर्षण थप्ने योजना बनाएको छ। 

यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे र कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। जिल्ला कृषि विकास कार्यालयले यसवर्ष काभ्रेपलान्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरेको छ। गत वर्ष भने बाढी पहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो। 

हाल सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिने काम भइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए। उनका अनुसार प्रारम्भिक लगतका हिसाबले गत वर्षभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्न सक्ने प्रक्षेपण गरिएको हो। 

जिल्लामा करिब एक हजार ३०० हेक्टरमा सुन्तला खेती हुँदै आएको छ। यस वर्ष करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने जनाइएको छ।