प्रविधिजन्य स्वास्थ्य सामग्रीको विवरण ७ दिनभित्र बुझाउन विभागको निर्देशन

औषधि व्यवस्था विभागले सात दिनभित्र प्रविधिजन्य स्वास्थ्य सामग्रीको विवरण बुझाउन निर्देशन दिएको छ। रोग परीक्षणदेखि शल्यक्रियासम्मका उपकरणको गुणस्तर जाँच नहुँदा बिरामीको जीवन नै जोखिममा परेकोबारे उकालोमा रिपोर्ट प्रकाशन भएको थियो।

काठमाडौँ– औषधि व्यवस्था विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको विभागले सोमबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सात दिनभित्र तोकिएको ढाँचामा विवरण पठाउन निर्देशन दिएको हो।

विशेषगरी अर्थोपेडिक इम्प्लान्ट्स, इन-भिट्रो डायग्नोस्टिक, अपरेसन थिएटरमा प्रयोग हुने सामग्री, कार्डियोभास्कुलर र सर्जिकल कमोडिटिज जस्ता स्वास्थ्य सामग्री उत्पादन वा पैठारी गर्ने फर्महरूलाई अनिवार्य रूपमा विवरण बुझाउन भनिएको छ। प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४ बमोजिम गुणस्तर कायम गर्न र प्रभावकारी अनुगमनका लागि विवरण माग गरिएको विभागको भनाइ छ।

null

यसअघि उकालोले नियामक निकायको निष्क्रियताका कारण उपचारमा भइरहेको लुट र बिरामीको जोखिमपूर्ण अवस्थाबारे विस्तृत रिपोर्ट प्रकाशन गरेको थियो। रिपोर्टले रोग परीक्षणमा प्रयोग हुने किट र रसायन (रिएजेन्ट)देखि दैनिक प्रयोग हुने सिरिन्ज, रगत संकलन गर्ने ट्युब, शल्यक्रियामा प्रयोग हुने टाँका र मुटुमा राखिने स्टेन्ट तथा पेसमेकरजस्ता संवेदनशील सामग्रीको समेत गुणस्तर परीक्षण र प्रमाणीकरण नभएको तथ्य उजागर गरेको थियो।

नियामक निकाय मौन बस्दा बिरामीको जीवन जोखिममा पर्नुका साथै परीक्षणका नाममा महँगो शुल्क तिर्नु परिरहेको समाचार सार्वजनिक भएपछि स्वास्थ्यमन्त्रीले विशेष सक्रियता देखाउँदै निर्देशन दिएसँगै विभागले सूचना जारी गरी स्वास्थ्य सामग्रीको विवरण माग गरेको हो। विभागका अनुसार, स्वदेशी उत्पादक तथा पैठारीकर्ताले आफ्नो र विदेशी उत्पादकको नाम, ठेगाना एवं स्वास्थ्य सामग्रीको विवरण विभागको आधिकारिक इमेलमा पठाउनुपर्नेछ।