रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, कुलमानलाई उपसभापतिको जिम्मेवारी

रवि लामिछाने सभापति र कुलमान घिसिङ, डीपी अर्याल तथा स्वर्णिम वाग्ले उपसभापति रहने गरी रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमतिमा बालेन शाहले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकता गर्ने सहमति भएको छ। सोमबार काठमाडौँमा दुवै दलका प्रमुखहरूले सातबुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत राजनीतिक यात्राको घोषणा गरेका हुन्।

सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने चुनाव चिह्न घण्टी र झन्डा साबिककै कायम गरिएको छ। केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने पार्टीको नयाँ नेतृत्व संरचनामा केन्द्रीय सभापतिमा रवि लामिछाने, उपसभापतिहरूमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहेन छन्।

सहमति पत्रमा रास्वपाका तर्फबाट सभापति लामिछाने र उज्यालो नेपालका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन्। एकता प्रक्रियामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह साक्षीका रूपमा रहेका छन्।

सहमति पत्रमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।

पार्टीले उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, योग्यता प्रणाली र भ्रष्टाचारमा शून्य सहनशीलतालाई मुख्य आधार बनाएको छ। सहमति पत्रमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्र इमानदारीसाथ कार्यान्वयन गर्ने उल्लेख छ।

“उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणालीको स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,” सहमति पत्रमा भनिएको छ।

समायोजन प्रक्रिया उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई रास्वपाको संरचनामा समायोजन गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमति भएको छ।

“उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरूसँग जोड्दै, एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने” सहमति पत्रमा भनिएको छ।

null