ट्यांकर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सडकमा पल्टिएको ट्यांकर उठाउन जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली बोलाइएको प्रहरीले जनाएको छ।

चन्द्रपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा ट्यांकरका चालक भारतको कदोरा जिल्ला जयनगर थानाका ३५ वर्षीय पवन यादव घाइते भएका छन्। 

उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए।  पूर्वबाट आएका सवारी चन्द्रनिगाहपुरमा र पश्चिमतर्फबाट आएका सावारी धन्सार पुल नजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए। 

ट्यांकर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ। ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढिरहेको छ। ट्यांकर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली बोलाइएको प्रहरीले जनाएको छ।