बाजुरामा अत्यधिक चिसो, पानी जमेर बरफ

राति र बिहानको समयमा अत्यधिक चिसो हुने भएकाले खानेपानीका धारा र साना खोल्साहरूमा बरफ जम्ने गरेको स्थानीयले बताएका छन्।

बाजुरा– बाजुरामा बढ्दो चिसोसँगै जनजीवन प्रभावित भएको छ। जिल्लाका नौवटै स्थानीय तहमा तापक्रम माइनसमा झर्न थालेपछि धारा, खोल्सा र तालतलैयाको पानी जमेर बरफमा परिणत हुन थालेको छ।

null

हरेक वर्षझैँ यस वर्ष पनि बाजुरामा चिसोको प्रकोप बढेको छ। राति र बिहानको समयमा अत्यधिक चिसो हुने भएकाले खानेपानीका धारा र साना खोल्साहरूमा बरफ जम्ने गरेको स्थानीयले बताएका छन्। बडीमालिकाका स्थानीय कविराज पण्डितका अनुसार बिहान र बेलुकीपख जताततै पानी जमेर बरफ बन्ने गरेको छ।

null

यस्तै, जिल्लाको उत्तरी भेग पाण्डुसैनका अमर कठायतले दिउँसो घाम लाग्दासमेत जमेको बरफ पग्लिन नसक्ने अवस्था रहेको जानकारी दिए। यस वर्ष समयमै हिउँदे वर्षा र हिमपात नभए पनि सुक्खा चिसोका कारण तापक्रम ह्वात्तै घटेको हो।

बढ्दो जाडोका कारण बालबालिका तथा ज्येष्ठ नागरिकहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ। चिसोसँगै रुघाखोकी र निमोनिया जस्ता समस्या लिएर अस्पताल जाने बिरामीको चाप बढेको छ।

null

बिहान र बेलुकी अत्यधिक चिसो हुने भएकाले सर्वसाधारणलाई दैनिक कामकाज गर्न समेत कठिनाइ भइरहेको छ। मंसिरदेखि माघसम्म अत्यधिक चिसो हुने बाजुरामा यतिबेला तापक्रम शून्य डिग्रीभन्दा तल झरेपछि जनजीवन थप चुनौतीपूर्ण बनेको छ।