ग्यास चुहावटले बुलेट उठाउन समस्या, पूर्व–पश्चिम राजमार्ग अझै अवरुद्ध

ग्यास चुहावटका कारण दुर्घटनाग्रस्त बुलेट उठाएर सडक खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्।

चन्द्रपुर– सोमबार बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन। महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्यांकर मंगलबार बिहान दुर्घटना भएको हो। अवरुद्ध राजमार्ग बिहानैदेखि खुलाउने प्रयास भए पनि प्राविधिक कारणले खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्।

बिहान ९ बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगन्ज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने उपरीक्षक लाबुङले जानकारी दिइन्। उक्त ग्यास बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएका छन्। दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उनले बताइन्।

दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका थिए।

हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा रोकिएका छन् भने केही सवारीसाधन रौतहटको चन्द्रनिगाहपुर–गौर राजमार्ग हुँदै बालचनपुर, जंगल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजावत गरिरहेका छन्।