तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ।

कर्णाली र सुदूरपश्चिमसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाको बुधबार बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो। अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने विभागको पूर्वानुमान छ।