म्याग्दीमा खेती बढे पनि घट्यो सुन्तला उत्पादन

म्याग्दीमा व्यापारीहरू बगैँचामै पुगेर सरदर ७० देखि ७५ रुपैयाँ प्रतिकिलोका दरले सुन्तला खरिद गरिरहेका छन्। यो गत वर्षभन्दा ५ रुपैयाँ बढी हो।

म्याग्दी– जिल्लामा यस वर्ष सुन्तला उत्पादन घटेको छ। सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादन घटेको हो। 

गत वर्षको तुलनामा ५.५६ प्रतिशतले उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ। रोग/किराको संक्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले बताए। 

“यस वर्ष मौसमले पनि साथ दिएको हो। तर दाना नै कम लागेको छ,” उनले भने, “एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो।”

गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.२५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष ४३० हेक्टर क्षेत्रफलमा १०.५ मेट्रिक टनका दरले चार हजार ५१५ मेट्रिक टन उत्पादन कार्यालयले जनाएको छ। 

बजारमा सुन्तला सरदर ७० देखि ७५ रुपैयाँका दरले बिक्री भइरहेको छ। गत वर्षको तुलनामा प्रतिकिलो ५ रुपैयाँ बढी मूल्य पाइएको किसानले बताएका छन्। 

जिल्लाको ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ। राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा रहेका छन्। 

बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनगायत बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन्।