मधेशमा ६ मन्त्रीले लिए शपथ

मधेशमा ६ नयाँ मन्त्री थपिएसँगै सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

धनुषा– मधेश प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। बुधबार थप ६ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो। 

जनकपुरधामस्थित मधेस भवनमा ६ जना नवनियुक्त मन्त्रीले प्रदेशप्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ गरे। मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। 


यस्तै, शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।