जाजरकोटमा गोली लागेर १ जनाको मृत्यु, भरुवा बन्दुकसहित ५ पक्राउ

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेको थियो।

जाजरकोटमा गोली लागेर १ जनाको मृत्यु, भरुवा बन्दुकसहित ५ पक्राउ
प्रतिकात्मक तस्वीर

काँक्रेविहार– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित ६ जना शिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। 

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेको थियो। त्यसपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो। 

अभियुक्तबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन्।