६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

केरुङ नाका खुलेपछि चिनियाँ सामान आयातका लागि नेपाली कन्टेनर मितेरी पुलबाट केरुङतर्फ प्रस्थान गरेका छन्।

रसुवा– नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका सञ्चालनमा आएको छ। असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका बिहीबारदेखि सञ्चालनमा आएको हो।

नाकामा चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेको छ। पुलको भारवहन क्षमता ५५ टन रहेको छ। केरुङ नाका खुलेपछि चिनियाँ सामान आयातका लागि नेपाली कन्टेनर मितेरी पुलबाट केरुङतर्फ प्रस्थान गरेका छन्।  

सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेको बताए। सामान आयातको करबाट संकलन हुने राजस्व गत वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए। 

पुल सञ्चालनमा आए पनि स्याफ्रुबेँसी–सुवागढी खण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या छ। असार २४ गतेको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरेको थियो।