तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्राचार गर्ने जाँचबुझ आयोगको तयारी

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ।

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयार गरेको छ। आयोगले त्यसका लागि उनलाई पत्राचार गर्ने तयारी गरेको हो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको बयान सकिएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बोलाउन लागिएको जानकारी दिए।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगको कानूनी हैसियत र निष्पक्षतामाथि प्रश्न उठाउँदै आएका छन्। उनले आयोगमा बयान दिन नजाने आशयका धारणा सार्वजनिक गरिरहेको सन्दर्भमा आयोगले उनलाई औपचारिक रूपमै पत्र पठाउन लागेको हो। अध्यक्ष कार्कीले आयोगले आफ्नो कार्यविधि र कानूनी अधिकार प्रयोग गर्दै प्रक्रिया अघि बढाएको स्पष्ट पारे।

माघ ५ सम्मको समयसीमा आयोगलाई सरकारले दिएको थप समयसीमाभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको पनि अध्यक्ष कार्कीले बताए। गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट गठित यो तीन सदस्यीय आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरिएको छ। आयोगले आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिको विवरण र घटनाको कारणबारे विस्तृत अध्ययन गरिरहेको छ।