जिल्ला अस्पताल कारागारबाट करिब ५०० मिटरको दूरीमा रहे पनि सवारीसाधनको अभावमा सुरक्षाकर्मीको साथ लगाउँदै कैदीबन्दीलाई पैदलै लैजानुपर्ने बाध्यता छ। अर्कोतर्फ, अहेवको दरबन्दी भए तापनि गत साउनदेखि कारागारमा कोही पनि स्वास्थ्यकर्मी खटिएका छैनन्।
दार्चुला– जिल्ला कारागार दार्चुलामा ६ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या भएको छ। अहेबको दरबन्दी रहे पनि गत साउनयता कारागारमा कुनै पनि स्वास्थ्यकर्मी खटिएका छैनन्।
चिसो मौसमसँगै बिरामीको संख्या बढ्न थाले पनि स्वास्थ्यकर्मीको अभावले सामान्य स्वास्थ्य जाँच गर्न समेत समस्या भइरहेको जेलर सरिता चन्दले जानकारी दिइन्। सामान्य बिरामी देखिँदा पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
कारागारबाट करिब ५०० मिटर तल जिल्ला अस्पताल रहे पनि कार्यालयसँग सवारीसाधन नभएकाले सुरक्षाकर्मीको सहायतामा पैदलमार्फत अस्पताल लैजानुपर्ने अवस्था छ। “टाढा लैजानु नपरे पनि सामान्य जाँचका लागि पनि सुरक्षासहित अस्पताल जानु चुनौतीपूर्ण छ”, जेलर चन्दले भनिन्। उनका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांशमा पाइल्सको समस्या देखिएको छ। व्यायामको अभावका कारण यस्तो समस्या बढेको हुनसक्ने उनको अनुमान छ।
‘घ’ श्रेणीको जिल्ला कारागारको क्षमता ४० जनाको रहेको जनाउँदै जेलर चन्दले हाल क्षमताभन्दा झन्डै दोब्बर बढी कैदीबन्दी राखिएको बताइन्। उनका अनुसार २५ जना पुरुष र १५ जना महिलाको क्षमता रहेको कारागारमा हाल ७० जना कैदी र २१ जना थुनुवा गरी कुल ९१ जना राखिएका छन्।
महिला कैदीबन्दी नभएकाले पुरुषलाई महिला वार्डमा राखिएको जनाउँदै महिला कैदीबन्दी आएपछि व्यवस्थापनमा समस्या आउने जेलर चन्दले बताइन्। “कारागारभित्र शौचालय र सुत्ने स्थानको अभाव छ। चिसो मौसममा कैदीबन्दी एकैठाउँमा सुत्छन्। गर्मी मौसममा थप कैदीबन्दी आए बास व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हुनेछ”, उनले भनिन्।
विसं २०३८ मा निर्माण भएको कारागारको भवन पनि जीर्ण बनेको जेलर चन्दले जानकारी दिइन्। उनका अनुसार कारागारमा हाल एक जना ज्येष्ठ नागरिक र दुई जना अपांगता भएका कैदीबन्दी रहेका छन्। स्वास्थ्यकर्मी अभाव हुँदा कैदीको स्वास्थ्य जाँचमा समस्या हुँदै आएको बताउँदै यी तीन जनाको स्वास्थ्य जाँच, हेरचाहमा थप समस्या हुने गरेको उनले उल्लेख गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
