समाजले खोट महिलामा मात्र देखेको छ। प्रश्न महिलामाथि मात्र उठाएको छ। लाञ्छना महिलामाथि मात्र लगाएको छ। पुरुषको गल्तीलाई पनि सकारात्मक रूपमा पेस गरेको छ र यो कार्य महिलाबाट बढी भएको छ।
अग्निगर्भा — जसको गर्भमा अग्नि छ। अग्निगर्भा—जो आफूभित्र आगोलाई समाहित गरेर बसेकी छ। अग्निगर्भा—पितृसत्तात्मक समाजमा पिल्सिएर बाँचिरहेकी प्रत्येक नारी।
अर्चना थापाको उपन्यास अग्निगर्भा यस्तै पात्रमा केन्द्रित छ। यस उपन्यासको मुख्य विषयवस्तु हो पितृसत्तात्मक समाजमा महिलाको स्थान र उनीहरूले भोग्ने समस्याहरू। आफ्नी आमालाई समर्पण गर्दै पुस्तकमा लेखकले लेखेकी छन्, 'आगो, धुवाँ, पानी, भाप, बास्ना र खरानीमा कथा लेख्नेहरू'। भान्साले कथा र पात्रहरूको जीवनमा अभिन्न भूमिका खेलेको छ। उपन्यासमा यो विषय उठाउनु धेरै गाह्रो छ–अलिकति पनि तलमाथि भयो भने जेन्डरको पाठ्यक्रम बढी, साहित्य कम हुने सम्भावना हुन्छ। लेखक थापाले यो सन्तुलन अत्यन्त सफलतापूर्वक मिलाएकी छन्। उनले निपुणताका साथ यो विषयलाई यस उपन्यासमा उठाएकी छन्।
२६८ पेजको यो सलल्ल बग्ने पुस्तक, बिदाको दिन पढ्ने हो भने एकै सिटिङ (४-६ घण्टाको समय) मा सिद्ध्याउन सकिन्छ। कथा स्वाभाविक रूपमा बग्छ। भाषामा सरलता र सहजता छ। उपन्यासभरि दुई थरीका आवाज सुनिन्छन् — मुख्य पात्र तेजश्री (ब्वारी) र अन्य महिलाहरूतर्फ लक्षित समाजको टिका टिप्पणी, लाञ्छना, आलोचना र मुख्य पात्रको आत्म संवाद।
समाजको आवाजमा पितृसत्तात्मक सोच हाबी छ। पितृसत्तात्मक समाजमा महिलाहरूको लागि एउटा ढाँचा छ–महिलाहरू आज्ञाकारी, मौन, धैर्यशील, र घरेलु हुनुपर्छ। पितृसत्ताले अपेक्षा गर्छ–महिलाहरूले आफ्ना आवश्यकताभन्दा परिवारका आवश्यकतालाई प्राथमिकतामा राखुन्। पितृसत्तात्मक सोच हो–महिलाको कर्तव्य भनेको घर सम्हाल्नु र परिवारको सेवा–शुश्रूषा गर्नु हो।
उपन्यासभरि समाजको आवाज यही सोचबाट प्रभावित छ। समाजले खोट महिलामा मात्र देखेको छ। प्रश्न महिलामाथि मात्र उठाएको छ। लाञ्छना महिलामाथि मात्र लगाएको छ। त्यही समाजले पुरुषको गल्तीलाई पनि सकारात्मक रूपमा पेस गरेको छ र यो कार्य महिलाबाट बढी भएको छ।
यस उपन्यासमा ब्वारीको दुःखको दोषी कुनै एक खलपात्र छैन। कसैले पनि जानीजानी उनलाई दुःख दिएको छैन। यसको प्रमुख दोषी हो समाज र व्याप्त पितृसत्तात्मक सोच।
मुख्य पात्र तेजश्रीको परिचय र अस्तित्व दुई जना पुरुषहरू—उनका ससुरा दिग्विजय सिंह र श्रीमान् अमन सिंहमा सम्पूर्ण रूपमा आधारित छ। उनलाई सबैले ठुल्काजीकी ब्वारी भनेर चिन्छन्। यति भएता पनि पूरै उपन्यासमा पुरुषभन्दा महिला पात्र बढी हाबी छन्। ब्वारीको मुख्य पीडाको कारण उनको श्रीमानको उनी प्रतिको उपेक्षा भए पनि उनीमाथि लादिएका जिम्मेवारी र अपेक्षाहरूको भार, बढी महिलाहरूबाट आएको छ। पितृसत्ताको विषय उठान गर्दा लेखकले वास्तविकतालाई इमानदारीपूर्वक चित्रण गरेकी छन् — पितृसत्ता मानसिकता हो र यसलाई फैलाउन पुरुष र महिला दुवैको हात छ।
मुख्य पात्रको आत्म संवादमा हरेक महिलाको पीडा झल्केको छ। यसले पितृसत्तात्मक सोच र अवधारणामाथि प्रश्न उठाएको छ। हरेक महिलाको सोच प्रतिनिधित्व गरेको छ। जस्तै: जब बतासीले ब्वारीलाई भन्छिन्, "यस्तो लच्छिनको लोग्ने पाउन त सात जन्मको पुन्ने गर्नुपर्छ। भाग्यमानी रैचौ।" ब्वारीले मनमनै सोच्छिन्, "के मसित बिहे गरेर अमन भाग्यमानी भएनन्? उनी परिवार बिर्सेर बिदेसिएका छन्। उनी ढुक्कसित आफ्ना सपना पच्छ्याउँदै छन्। मैले गुनासो गरेकी छैन। म उनको घर परिवार धानेर यहाँ बसेकी छु। अनि मसित बिहे गरेर उनको पो भाग्य चम्किएको होइन र?"
कथा शहरभन्दा अलि परको झन्डै गाउँले परिवेशमा आधारित छ र यो परिवेशमा पात्रहरूको चित्रण यथार्थपरक छ। ब्वारीको मौन संघर्ष, हजुरीको फत्फत् र सधैँको टोकसो, किशोरावस्थाकी अनुश्रीको भावनात्मक विस्फोट–यी सबै हाम्रो घर–परिवारमा देखिने सामान्य तर गहिरा यथार्थ हुन्। उपन्यासको मूल विषय पितृसत्ताको प्रभाव कथाको प्रवाह र पात्रहरूमार्फत स्वाभाविक रूपमा प्रस्तुत हुन्छ। यहाँ कतै कसैले पितृसत्ताबारे प्रवचन दिँदैनन्, तर पाठकलाई प्रत्येक क्षण यसको अनुभूति भइरहन्छ।
कथाको प्लट सशक्त छ। तेजश्री अर्थात् दिग्विजय सिंहकी ब्वारीलाई उनका छोरा अमनले बिहेको केही वर्षपछि घरमै छोडेर विदेश पढ्न गएको छ। तेजश्रीको सम्पूर्ण अस्तित्व दिग्विजय सिंहकी ब्वारी हुनुमा छ। उनको दैनिकी घरको रेखदेख, सास ससुरा र छोरीको स्याहारसुसार र भान्सामा खान पकाउन सीमित छ। अमनले आफूलाई गरेको बेवास्ताले उनी दुखी छिन्, तर जब अमनले अरु नै महिलासँग प्रेम गरेको उनले थाहा पाउँछिन्, तब उनले अमन फर्केर आफूकहाँ आउने आस त्यागिदिन्छिन् र आफ्नो खुट्टामा उभिने प्रयास गर्छिन्। बिस्तारै आफ्नो सीपको उपयोग गर्दै आर्थिक स्वायत्तता हासिल गर्न र स्वतन्त्रता प्राप्त गर्न भान्साघर खोल्छिन्।
यो कथा प्रेरणादायी छ। यसले महिलालाई समाजको साङ्लो तोडेर आफ्नो सपना पछ्याउन प्रेरित गर्छ। मलाई खट्किएको उपन्यासको एउटै पक्ष हो–पहिलो खण्डमा भएको घटनाक्रमको विकास र मुख्य पात्रमा आएको परिवर्तनको टर्निङ प्वइन्टको गति। हुन त भान्साघरकी ब्वारीबाट तेजश्रीको भान्साघर सम्मको यात्रामार्फत उपन्यासले एउटा गहिरो सन्देश दिएको छ। र, त्यो हो–महिलाले चाहे आफ्नो भाग्य आफै बदल्न सक्छन्। लोकलाज र डरले मरीमरी बाँच्नु पर्दैन।
झन्डैझन्डै निरीह, आज्ञाकारी र मौन ब्वारीको स्वरूपबाट तेजश्रीको निडर, महत्वाकांक्षी र सशक्त महिलामा आएको रूपान्तरणको गति एकदम द्रुत छ। हुन त कथामा कहीँ उनलाई स्वावलम्बी हुन प्रेरित गरिएको घटना छ र उनका ससुराले उनको कडा विरोध नगर्नु पछाडिको पनि छुट्टै कारण छ, तर यति द्रुत गतिको रूपान्तरण वास्तविक जीवनको सन्दर्भमा त्यति यथार्थपरक जस्तो प्रतीत हुँदैन। लेखकले ब्वारी र तेजश्री पात्रको आन्तरिक द्वन्द्व र मनोवैज्ञानिक संघर्षलाई अझ गहिराइमा खोतलेको भए उपन्यास अझ बढी प्रभावशाली र यथार्थपरक हुन्थ्यो होला।
अचानोको पीर खुकुरीले बुझ्दैन। त्यसरी नै महिलाको मनको पीडा बुझ्न र बुझाउन महिला नै हुनुपर्छ। जति नै संवेदनशील भए पनि, जति नै बुझक्की भए पनि, कुनै पनि पीडा पूर्ण रूपमा बुझ्न त्यो पीडालाई नजिकबाट देखेको हुनुपर्छ, भोगेको हुनुपर्छ। लेखक स्वयम् महिला भएकीले उनले उपन्यासको मुख्य पात्र 'ब्वारी नानी'को पीडा बुझेकी छिन् र त्यस पीडा आफ्ना शब्दहरूमार्फत पाठकलाई महसुस गराउन सफल भएकी छिन्। सारांशमा, यो पुस्तक रोचक, पठनीय र विचार प्रेरक छ, जसले पाठकलाई अन्तिम पृष्ठसम्म बाँधेर राख्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
