रास्वपाको वरिष्ठ नेतामा बालेन शाह मनोनीत, थपिए २६ केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँका प्रमुख बालेन शाहलाई वरिष्ठ नेता र उनको समूहका २५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई ‘वरिष्ठ नेता’मा मनोनीत गरेको छ।

वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार साँझ बसेको ५८औँ केन्द्रीय समिति बैठकले शाहसहित विभिन्न क्षेत्रका २६ जनाहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेता मनिष झाले रास्वपा र प्रमुख बालेन्द्र शाहबीच भएको राजनीतिक सहकार्यको सम्झौताअनुसार यो निर्णय लिइएको बताए।

पार्टीको केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, सरिता ज्ञवाली, रमेश पौडेल, केपी खनाल, खडकराज पौडेल र सन्तोष गिरि रहेका छन्।

त्यस्तै, लक्ष्मण थारु, खगेन्द्र सुनार, डा. नमिता यादव, लक्ष्मी बर्देवा, रामकुमार ढुंगाना, रोहन कार्की, अनन्तराज घिमिरे र सुशान्त वैदिकलाई पनि केन्द्रीय समितिमा समेटिएको छ।

यसैगरी प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, शिव यादव, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउदलाई पनि रास्वपाले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ।

रास्वपा र प्रमुख शाहबीच सहकार्य गर्ने सम्झौता यसअघि नै भइसकेको थियो। त्यस्तै, रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकतासम्बन्धी सम्झौता भइसकेको छ।

यसअघि रास्वपाले अन्य दलबाट आएका सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो। जसमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शन रहेका छन्।