पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको बयान प्रक्रिया सम्पन्न गरेसँगै उनीमाथि लगाइएको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने प्रतिबन्ध फुकुवा गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद (आवतजावतमा रोक) फुकुवा गरिएको छ।

गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीमाथि लगाइएको विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न नपाउने प्रतिबन्ध हटाउने निर्णय गरेको हो। आयोगको सोमबारको बैठकले उक्त निर्णय गरेको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग सोधपुछ कार्य सम्पन्न भएकाले उक्त बन्देज हटाइएको हो।

“भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न असोज १२ गतेको बैठकबाट निर्णय गरिएको थियो”, आयोगको निर्णयमा भनिएको छ, “ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएको छ।”

आयोगको टोलीले आइतबार ओलीको भक्तपुरस्थित गुण्डु निवास पुगेर बयान लिएको थियो। आयोगको टोलीलाई अध्यक्ष ओलीले लिखित वक्तव्य बुझाएका थिए। यसअघि आयोगले गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूसँग पनि बयान लिइसकेको छ।

“बयान लिने कार्य लगभग सकिएको छ र आयोगले तीव्र गतिमा काम गरिरहेको छ,” प्रवक्ता शर्माले भने, “जेनजी आन्दोलनसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूसँग पनि विवरण लिइएको छ।” आयोगको कार्यादेश तीन महिना रहेकोमा एक महिना थप भएको थियो।