वीरगन्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्न निषेधित क्षेत्रभित्र भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

प्रशासनले पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको सीमा निर्धारण गरी उक्त चार किल्लाभित्र निषेधाज्ञा लागू गरेको हो। प्रशासनले उक्त आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गरिने जनाएको छ।

पछिल्लो समय वीरगञ्जमा दुई समुदायबीच लगातार विरोध प्रदर्शनका कार्यक्रमहरू हुँदै आएकाले सुरक्षा स्थिति जटिल बन्न सक्ने भन्दै प्रशासनले यो कदम चालेको हो। साथै, सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न आवश्यक सहयोग गर्न र प्रशासनको आदेश पालना गर्न विशेष आग्रह गरिएको छ।