जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगन्जमा आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार साँझ ६ः०० बजेदेखि मंगलबार बिहान ८ः०० बजेसम्मका लागि कर्फ्यु लगाएका हुन्।
केही दिनदेखि वीरगन्जमा दुई पक्षबीच उत्पन्न तनाव र विरोध प्रदर्शनका कारण सुरक्षा संवेदनशीलता बढेपछि प्रशासनले यो कदम चालेको हो। यसअघि सोमबार दिउँसोदेखि नै महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको भए पनि स्थिति नियन्त्रणमा राख्न रातिदेखि कर्फ्यु लगाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको आदेशअनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको सीमाभित्र कर्फ्यु लागू हुनेछ।
कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारीसाधनहरूलाई पहिचानका आधारमा आवतजावतमा सहजीकरण गरिनेछ। तर, तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
प्रशासनले जारी गरेको आदेशमा कर्फ्युको उल्लंघन गर्ने वा बाहिर निस्कनेलाई सुरक्षाकर्मीले देख्नेबित्तिकै ‘गोली हान्न सक्ने’सम्मको अधिकार रहेको उल्लेख गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन निर्देशन दिइएको छ। विशेष परिस्थितिमा बाहिर निस्कनै परेमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न वा प्रहरीको नियन्त्रण कक्ष (१००) मा फोन गरी अनुमति लिन आग्रह गरिएको छ।
आदेशको उल्लंघन गर्ने जोसुकैलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत जिल्ला प्रशासनले दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
