गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति फैलाएर सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ।
काठमाडौँ– गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो।
सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले स्पष्ट पारेको छ।
“विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति दिनु दण्डनीय अपराध हो”, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले जो कोही व्यक्ति तथा समूहले जहाँ सुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ। मन्त्रालयले शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता कायम गर्न आवश्यक संयम, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका पछिल्ला घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भाव र सह-अस्तित्वको रक्षा गर्न सबै पक्षसँग अपिल गरेका छन्। मन्त्रालयमा सोमबार आयोजित विशेष छलफलमा उनले समाजमा हिंसा भड्किन नदिन र धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेका हुन्।
गृह प्रशासन र संघीय सरकारले आवश्यक सुरक्षा सजगता अपनाएको जानकारी दिँदै मन्त्री अर्यालले भने, “एउटा समुदायलाई आज परेको पीडा भोलि अर्कोमा पनि पर्न सक्छ, त्यसैले यसलाई समयमै निस्तेज गर्न सबैले जिम्मेवारी बोध गरौँ।”
गृहमन्त्री अर्यालले सोमबार नै मधेश प्रदेशका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रहरी प्रमुखहरूसँग 'भर्चुअल' बैठक गरेका थिए। बैठकमा उनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिँदै शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न मातहतका निकायलाई निर्देशन दिए थिए।
यसैबीच, मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले पनि पछिल्ला दिनहरूमा देखिएका अस्वाभाविक गतिविधि र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक एकता कायम राख्न सबैमा अपिल गरेका छन्। सोमबार एक सन्देश जारी गर्दै उनले समाजलाई विभाजन गर्ने तत्त्वहरूबाट सचेत रहन र कुनै पनि उत्तेजना वा आवेगमा नआई धैर्य अपनाउन आम नागरिकलाई अनुरोध गरेका हुन्।
मधेशलाई विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर संगमस्थलका रूपमा चित्रण गर्दै प्रदेश प्रमुख कर्णले परापूर्वकालदेखि चल्दै आएको आपसी सम्मान र भाइचाराको संस्कारलाई जोगाउनुपर्नेमा जोड दिए। “हाम्रो समाज 'अतिथि देवो भवः' र 'वसुधैव कुटुम्बकम्' जस्ता महान् मूल्य-मान्यताले बाँधिएको छ, यसलाई आत्मसात् गर्नु नै अहिलेको आवश्यकता हो,” उनको सन्देशमा उल्लेख छ।
विचार र आस्था फरक भए पनि मानवीय पहिचान र सामाजिक एकता साझा भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने गतिविधि नगर्न सचेत गराए। संवाद र सहकार्य नै हरेक समस्याको समाधान भएको बताउँदै उनले मधेश विविधतामा अटुट एकता र प्रेमको भूमि भएको पुनः प्रमाणित गर्न सबैलाई आह्वान गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
