सर्वोच्चमा जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार

सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगलागीमा २० हजार मिसिल जलेको थियो।

काठमाडौँ– सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ।

सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगलागीमा २० हजार मिसिल जलेको थियो। चार हजार मिसिल मात्रै जोगिएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता नीराजन पाण्डेका अनुसार पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ।

सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिल महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षसँग उपलब्ध गराउन आग्रह गरेको थियो। सोही अनुसार मुद्दाका मिसिल संकलन भइरहेको पाण्डेले जानकारी दिए।