कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त १० मन्त्रीले लिए शपथ

कोशी प्रदेशका १० जना नवनियुक्त मन्त्रीहरूले मंगलबार शपथ लिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ।

विराटनगर– कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच प्रदेश प्रमुख परशुराम खापुङले दुई राज्यमन्त्रीसहित १० जना मन्त्रीहरूलाई शपथ गराएका हुन्। 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेकपा (एमाले) र नेपाली कांग्रेसबाट पाँच–पाँच जना गरी १० नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका छन्। यससँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ।

नवनियुक्त मन्त्रीहरूमध्ये नेकपा एमालेबाट विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानून मन्त्रालय र रामप्रसाद मेहताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा नियुक्त भएका छन्।

नेपाली कांग्रेसको तर्फबाट प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारीमन्त्री र भीम पराजुली पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्। कांग्रेसकै शोभा चेम्जोङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

null