सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन

राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ।

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत हिंसा भड्किन सक्ने घटनाप्रति संयमित हुन र दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको हो।

आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा व्यक्तिको मानमर्यादा, प्रतिष्ठा र सामाजिक ऐक्यबद्धताको सम्मान गर्न आग्रह गरेको छ।

“घटनाको गम्भीरताप्रति संवेदनशील हुँदै संयमता अपनाउन, सामाजिक सद्भाव जोगाउन र धार्मिक–सामाजिक सद्भाव कायम हुने गतिविधि गर्न आयोग राजनीतिक दल, धार्मिक संघसंस्था, धर्मगुरु, अभियन्ता तथा नागरिक समाजलाई अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ।

साथै, आयोगले समाजमा देखिएका कुनै पनि विमति वा विवादको समाधान वार्ताको माध्यमबाट खोज्न सम्बद्ध सबै पक्षलाई विशेष आग्रहसमेत गरेको छ।