काठमाडौँ महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव प्रदीप परियारसहित सात जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव प्रदीप परियारसहित सात जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माण ठेक्कामा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको हो।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले परियार लगायतमाथि लगाइएको भ्रष्टाचारको आरोप पुष्टि हुन नसक्ने ठहर गरेको हो। परियारसँगै रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालले पनि सफाइ पाएका छन्।

काठमाडौँ महानगरपालिकाले सामाखुसी कोरिडोर (बसुन्धारादेखि म्हैपीसम्म) ढल निर्माणका लागि आह्वान गरेको ठेक्का प्रक्रियामा अनियमितता भएको अख्तियारको दाबी थियो। समानान्तर निर्माण सेवा प्रालिको ‘पेन्डिङ लिटिगेसन’सम्बन्धी तथ्यलाई गलत व्याख्या गरी उसलाई अयोग्य ठहर गरिएको र महँगो दर कबोल गर्ने कल्पवृक्ष–कोहिनुर जेभीलाई ठेक्का सुम्पिएर राज्यलाई करिब चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हानि-नोक्सानी पुर्‍याइएको आरोपपत्रमा उल्लेख थियो। 

अदालतले बोलपत्र स्वीकृत गर्ने कार्यलाई बदनियत मान्न सकिने वस्तुनिष्ठ आधार नदेखिएको स्पष्ट पारेको छ। “कल्पवृक्ष-कोहिनुर जेभीको बोल पत्र स्वीकृत गरेको कार्यलाई बदनियत मान्न सकिने वस्तुनिष्ठ आधार देखिँदैन,” आदेशमा भनिएको छ।