बढ्दो चिसोमा ‘फ्लु’को जोखिम, सुरक्षित रहन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)बाट सुरक्षित रहन आग्रह गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)बाट सुरक्षित रहन आग्रह गरेको छ। मन्त्रालयले जाडो बढेसँगै फ्लु संक्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो।

जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसका कारण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न सक्छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा इन्फ्लुएन्जा भाइरस संक्रमणको सम्भावना बढी हुने गरेको बताए।

फ्लु इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो। यो भाइरसले सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न सक्छ। फ्लु भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक पर्दैन। दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लुले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न प्रवक्ता डा बुढाथोकीले आग्रह गरे।

फ्लु भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ। ती छिटा श्वास लिँदा फोक्सोमा पनि जान सक्छन्। भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लु लाग्न सक्छ।

ज्वरो आउनु, टाउको दुख्नु, जीउ र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु जस्ता लक्षण देखिने गर्दछन्। फ्लु भएका सबैलाई ज्वरो नआउन सक्छ।

फ्लु भएका बिरामीसँग भौतिक दूरी राख्नुपर्दछ। सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ। शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्दछ र हातले आँखा, नाक वा मुख छुने गर्नुहुँदैन।