विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, अडानबाट पछि हटेनन् महामन्त्री

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको विशेष महाधिवेशन फिर्ता लिने प्रस्तावलाई महामन्त्री गगन थापाले अस्वीकार गरेका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर र विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नहुने प्रस्ट पारेका हुन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको कार्यसूची घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको, वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुन सक्ने भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।

तर, महामन्त्री थापाले कार्यवाहक सभापतिको उक्त तर्कलाई ‘विधानको अपव्याख्या’को संज्ञा दिएका छन्। “नियमित महाधिवेशनको क्यालेन्डर आयो भने विशेष महाधिवेशन बोलाउनु पर्दैन भन्नु विधानको खिलाप छ,” थापाले बैठकपछि सञ्चारकर्मीसँग भने, “यो महाधिवेशन प्रतिनिधिको हक हो, जसलाई स्थापित गर्न पुस २७ र २८ गते विशेष महाधिवेशन भई छाड्छ।”

भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोह र देशको बदलिएको राजनीतिक परिस्थितिको समीक्षा गर्न विशेष महाधिवेशन अनिवार्य रहेको थापाको तर्क छ। उनले निर्वाचनमा जानुअघि पार्टीको नीति र नेतृत्व दुवै बदल्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “अवस्था संवेदनशील भएकै कारण विशेष महाधिवेशन मागिएको हो। छिटो गर्न सकिन्छ भने नियमित गरौँ, नभए विशेष महाधिवेशन गरौँ।”

विधानको पालना गर्दा पार्टी विभाजन हुन्छ भन्नु ‘हौवा’ मात्र भएको थापाको दाबी छ। उनले नेतृत्वले साथीहरूको मन टुटेको नदेखेको तर पार्टी फुट्ने डर मात्र देखाएको आरोप लगाए। साथै, आफू र विश्वप्रकाश शर्मा महामन्त्री भएर आएपछि नेतृत्वले कहिल्यै स्वीकार गर्न नसकेको र पेल्ने रणनीति लिएकोमा उनले असन्तुष्टि व्यक्त गरे।

महामन्त्री थापाले पुस २७ गतेको विशेष महाधिवेशन विधानसम्मत रहेको जिकिर गर्दै सभापति शेरबहादुर देउवालाई पनि सहभागी हुन आग्रह गरेका छन्। “यो पार्टीकै साथीहरूले गरेको आयोजना हो, सभापतिजी सहभागी हुनुभयो भने उहाँकै मान बढ्छ,” उनले भने।

संस्थापन पक्षले भने प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरिरहेको छ।