जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा शुक्रबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

सुर्खेत– जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

छेडागाड–९ पजारुबाट थलहतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको हो। 

दुर्घटनामा परी छेडागाड–९ का ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको ज्यान गएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी, ३९ वर्षीय बीरबहादुर रोकाय, वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री र दैलेख नौमुले गाउँपालिका–६ की २३ वर्षीया शीतला रावत रहेका छन्।

घाइते सबैको हाल छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।