काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, ३ स्थानको तापक्रम माइनसमा

शुक्रबार काठमाडौँको तापक्रम यस वर्षकै न्यून रेकर्ड गरिएको छ भने अन्य तीन स्थानमा तापक्रम शून्यभन्दा तल पुगेको छ। आगामी दिनमा चिसो अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

काठमाडौँ– देशभर जाडो बढ्ने क्रमसँगै शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षकै अहिलेसम्मको सबैभन्दा कम तापक्रम हो।

पुस लागेसँगै देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। जाडोको यो समयमा तापक्रम अझै घट्न सक्ने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरिन्।

विगत केही दिनदेखि काठमाडौँमा चिसो लगातार बढिरहेको छ। यही पुस ८ गते ४.९ डिग्री रेकर्ड गरिएको न्यूनतम तापक्रम पुस १५ मा ४.८ डिग्री र पुस १९ मा ४.५ डिग्रीमा झरेको थियो। त्यस्तै पुस २३ र २४ गते ३ डिग्री रहेको तापक्रम आज २.४ डिग्रीमा सीमित भएको हो।

काठमाडौँ बाहेकका अन्य जिल्लामा पनि चिसो निकै बढेको छ। विभागका अनुसार शुक्रबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.७ डिग्री सेल्सियस मापन गरिएको छ। बिहीबार जुम्लाको तापक्रम माइनस ८.१ डिग्रीसम्म पुगेको थियो। यस्तै, जोमसोमको तापक्रम माइनस ५ डिग्री र दोलखाको जिरीमा माइनस २.१ डिग्री रेकर्ड गरिएको छ।

अन्य क्षेत्रको अवस्था हेर्दा डडेलधुराको न्यूनतम तापक्रम १.५, दिपायलको १.४, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९ र लुम्लेको ३.६ डिग्री सेल्सियस रहेको छ।

हाल नेपालमा पश्चिमी वायुका साथै दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। विभागद्वारा जारी बुलेटिनअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। हुस्सुका कारण बिहानको जनजीवन, पर्यटन, स्वास्थ्य, साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।