कांग्रेस विशेष महाधिवेशन: ६२ प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको पहिलो दिन आइतबार साँझसम्म ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा नाम दर्ता गराउँदै प्रतिनिधिहरू। तस्वीर: नारायण न्यौपाने/रासस

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पहिलो दिन आइतबार साँझसम्म ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।

चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये साँझसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराएको जानकारी महाधिवेशन उद्घाटन सत्रको मञ्चबाट दिइएको हो। प्रतिनिधिहरूको नाम दर्ता कार्य बिहान ९ बजेदेखि नै शुरू भएको थियो।

विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको यस दुईदिने भेलाका लागि आठ वटा छुट्टाछुट्टै ‘स्टल’बाट दर्ताको व्यवस्था मिलाइएको छ। नाम दर्ता र कार्ड वितरणको क्रम अहिले पनि जारी रहेको फोकल पर्सन समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए।

यसअघि, नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा आयोजित कार्यक्रमलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा नेताहरूले मन्तव्य राख्ने र प्रतिनिधिहरू आउने क्रम साँझसम्मै देखिएको थियो।

उद्घाटन सत्रमा बोल्ने नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबारको बन्द सत्रमा उपस्थित भएर सम्बोधन गर्न र पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।

सहमहामन्त्री फर्मुल्ला मन्सुरले भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गर्न सभापतिलाई आग्रह गर्दै यसले पार्टीमा एकताको सन्देश जाने बताए। नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीभित्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे भने केन्द्रीय सदस्य महेश आचार्यले यो महाधिवेशनले पार्टी विधानसम्मत चल्नुपर्ने र अरूको कुरा नसुन्ने प्रवृत्ति परास्त हुनुपर्ने सन्देश दिएको स्पष्ट पारे।

नेता डा. चन्द्र भण्डारीले युवा पुस्ताले उठाएका माग र मुद्दालाई सम्बोधन गर्ने गरी नेतृत्वका पाइला अघि बढ्नुपर्नेमा जोड दिए। अर्का नेता विनोद चौधरीले नेपाली जनताले राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्ति पर्खेकाले कांग्रेसले ती मागलाई ध्यानपूर्वक सुन्नुपर्ने बताए।

त्यसैगरी, नेता देवराज चालिसेले यो अधिवेशन केवल आन्तरिक जीवनमा मात्र सीमित नभई जेनजी आन्दोलन र समग्र मुलुकको रूपान्तरणसँग जोडिएको उल्लेख गरे। नेता केदार कार्कीले लोकतन्त्रको लाभ नेतृत्व वर्गले मात्र लिएको भन्दै युवा पुस्ताले गरेको विद्रोहलाई अनुभवी नेताहरूले सम्बोधन गर्नुपर्ने धारणा राखे।

सोमबार बिहान ८ बजेदेखि शुरू हुने बन्दसत्रमा महामन्त्रीद्वय विश्वप्रकाश र गगनले सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।