राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्को बैठकले आगामी माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गर्न सिफारिस गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकले सन् २०२५ को भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय र गंगाघाट मन्दिर पुनर्निर्माणका लागि तीन लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ। 

त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापत २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न पनि स्वीकृति दिइएको छ।

मन्त्रिपरिषद्ले आगामी पाँच वर्षका लागि 'वित्तीय क्षेत्र रणनीति (२०८२/८३–२०८६/८७)' र 'मानव बेचविखन विरुद्धको राष्ट्रिय नीति २०८२' स्वीकृत गरेको छ।

यसैगरी, बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा भक्तपुरका गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए।