कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई पनि अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, मंगलबार बिहान ११:०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा जारी विशेष महाधिवेशनको बन्दसत्र चलिरहेका बेला संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। “बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” मुख्यसचिव पौडेलले जारी गरेको सूचनामा भनिएको छ।

यता, महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनको बन्दसत्र मंगलबारसम्मका लागि लम्बिएको छ। प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार, मंगलबार बिहान ९:०० बजेदेखि बन्दसत्र पुनः शुरू हुनेछ र निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।

बन्दसत्रमा महामन्त्रीद्वयले प्रस्तुत गरेका नीतिगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। मंगलबार प्रत्येक समूहले प्रतिवेदनमाथिको आफ्नो निष्कर्ष सुनाएपछि नयाँ नेतृत्व चयनका लागि मतदानको प्रक्रिया अघि बढ्नेछ।

“पहिले नेता छानेर नीति बनाउँथ्यौँ, यसपालि नीति बनाएर मात्र नेता छान्ने प्रक्रिया शुरू गरेका छौँ,” संयोजक पोखरेलले भने। हालसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका उनले दाबी गरे।