खासा क्षेत्रको वनमा भीषण डढेलो, तातोपानी नाका बन्द

चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण डढेलो लागेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल–चीन व्यापारिक नाका तातोपानी सोमबारदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

चौतारा– चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण डढेलोपछि नेपाल–चीन व्यापारिक नाका तातोपानी सोमबारदेखि पूर्ण रूपमा बन्द गरिएको छ। चिनियाँ प्रशासनले डढेलोका कारण सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावत र व्यापारिक गतिविधिमा रोक लगाएको हो।

आइतबार राति न्यालम र खासाको मध्यभागस्थित ‘छोबिन’ क्षेत्रबाट शुरू भएको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन। इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आगो फैलँदै गएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय, पर्यटक तथा मालबाहक सवारीसाधनको आवागमन बन्द गरिएको हो।

गत वर्षको बाढीले रसुवागढी नाका अवरुद्ध भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकाबाटै हुँदै आएको थियो। नाका अचानक बन्द हुँदा सामान बोकेका सयौँ कन्टेनरहरू सीमा क्षेत्रमै रोकिएको र यसबाट व्यवसायी तथा मजदुर समस्यामा परेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटाले बताए।