चीनमा डढेलो, काठमाडौँसम्मै धुम्म

सोमबार अचानक तातोपानी नाका बन्द गरियो, त्यसको कारण थियो चीनतर्फ फैलिएको डढेलो। डढेलोले तातोपानी क्षेत्रमा मात्र नभई काठमाडौँसम्मै असर गरेको छ।

काठमाडौँ– नेपालको सीमावर्ती तातोपानी क्षेत्रबाट उत्तर चीनतर्फको वनमा आइतबार रातिबाट लागेको डढेलो अझै नियन्त्रणमा नआउँदा त्यसको असर काठमाडौँ हुँदै भारतसम्मै परेको छ।

उक्त क्षेत्रमा डढेलो फैलिएपछि चीन र नेपालको सीमामा पनि सतर्कता अपनाइएको छ। सिन्धुपाल्चोको तातोपानी नाका सोमबारदेखि नै बन्द गरिएको छ। अहिले बाटोमा अड्किएका केही सवारी साधनबाहेक आवतजावत रोकिएको छ।

आइतबार रातिबाटै चीनको न्यालम र खासाको मध्यभाग तथा छोबिन क्षेत्रमा डढेलो लागेको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए। उनले भने, “चीनका प्रहरी अधिकारीहरूसँग सम्पर्क गर्दा सीमा क्षेत्रको वनमा डढेलो लागेको भन्ने छ। आइतबार रातिबाट शुरू भएको डढेलो अहिले पनि नियन्त्रणमा आएको छैन भन्ने खबर छ। धेरै सूचना पाइएको छैन। कति क्षेत्रफलमा लाग्यो भन्ने पनि थाहा छैन।”

डढेलो नियन्त्रणको प्रयास भइरहेको सूचना भने आएको प्रहरी निरीक्षक राई बताउँछन्। डढेलो ठूलो क्षेत्रमा फैलिएकाले सीमा आसपास धुवाँले आकाशै धमिलो भएको छ। नेपालतर्फ पनि खरानीको कालो धुलो झरिरहेको राईको भनाइ छ। 

null

डढेलो व्यापक फैलिएको सूचना पाएपछि सोमबार बिहानैदेखि तातोपानी नाका बन्द गरिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिए। उनका अनुसार, मंगलबार पनि नाका खोल्ने अवस्था छैन। सोमबार नाकाबन्दले बाटोमा अड्किएका मालबाहक केही ट्रकहरू भने उताबाट आएका उनले बताए।

“बाटोमा रोकिएका सवारीसाधन पठाएर डढेलो नियन्त्रण नहुन्जेलका लागि नाका पूर्णरूपमा बन्द गर्ने कि भन्ने चीनतिरका प्रहरी अधिकारीको कुरा छ। आधिकारिक रूपमा भने केही जानकारी आएको छैन,” प्रमुख भन्सार अधिकृत चुडालले भने। 

सिन्धुपाल्चोका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, नाकासँग जोडिएका लिपिङ, तातोपानीलगायत क्षेत्रमा मात्रै नभई, सदरमुकाम चौतारासम्मको आकाश धुँवा र खरानीले ढाकिएको छ। अधिकारी भन्छन्, “वैज्ञानिक तथ्य त छैन, तर धुवाँ एकदमै धेरै छ। यहीँ चौतारासम्म खरानीसहितको धुवाँ आएको महसुस गरिएको छ।”

डढेलो अहिलेसम्म नेपालको सीमातिर फैलिएको छैन। डढेलो नियन्त्रणका लागि पहल भइरहेको जानकारी आफूले पाएको प्रजिअ अधिकारी बताउँछन्। चीनतर्फ समथर भूभाग पनि मिसिएको र जंगलहरू भएको ठाउँ छ। नेपालतर्फ भने भिरालो पहाडहरू भएको क्षेत्र छ।

धुवाँको असर काठमाडौँसम्मै
चीनको सीमावर्ती क्षेत्रमा लागेको डढेलोको धुवाँ काठमाडौँसम्मैको आकाशमा देखिएको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन्। नासाको ‘वल्र्डभ्यू म्याप’मा हेर्दा चीनको सीमाबाट धुवाँ निस्किएर नेपालका विभिन्न क्षेत्र हुँदै भारततिर गएको देखिन्छ। उक्त म्यापमा धुवाँले काठमाडौँको आकाश पनि ढाकिएको देखिन्छ।

null

लामिछानेका अनुसार, चीनबाट फैलिएको धुवाँले सोमबार दिनभर बादल नलागे पनि चिसो गराएको थियो। तर उक्त धुवाँ धेरै उचाइबाट गएको हुनाले धेरै असर नदेखिएको उनको भनाइ छ।

चीनको सीमा क्षेत्रमा लागेको डढेलोको धुवाँ धेरै ठूलो क्षेत्रमा फैलिएको देखिने लामिछाने बताउँछन्। “धुवाँ भारतसम्मै गएको देखिन्छ। आज (मंगलबार) पनि बिहानदेखि धुम्मिएको छ। हिजोको धुवाँ धेरै उचाइबाट गएको थियो। आज चिसो भएपछि तल्लो तहमा झरेर धुम्मिएको हुनसक्छ। तलको तहमा हिजो धेरै असर गरेको देखिँदैन,” उनले भने।

काठमाडौँमा उचाइले गर्दा धेरै नदेखिए पनि सीमाक्षेत्रमा भने प्रदूषण बढाएको हुनसक्ने वातावरण निरीक्षक लामिछानेको अनुमान छ। “तराईतिर हेर्दा हुस्सु तल्लो तहमा थियो, त्योभन्दा माथिल्लो तहमा धुवाँ गइरहेको देखियो। तर त्यसले कति असर गरेको छ भने अध्ययन नगरी ठ्याक्कै भन्न सकिने अवस्था छैन,” उनले भने। 

जल तथा मौसम विभागका अनुसार, अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। त्यसकै कारण चिसो भएको छ। तर चीनमा लागेको डढेलोले पनि केही असर गरेको हुनसक्ने मौसम विभागकी प्रवक्ता विभूति पोख्रेल बताउँछिन्। “चीनको डढेलोको धुवाँ कुन तहमा फैलिएको हो, कस्तो असर छ, हामी पनि अध्ययन गरिरहेका छौँ। त्यसको असर कुनकुन क्षेत्रमा परेको छ, कति असर छ भनेर अहिले भन्न सकिन्न,” उनले भनिन्।

सोमबारको तुलनामा मंगलबार काठमाडौँको न्यूनतम तापक्रम भने घटेको छ। काठमाडौँको न्यूनतम तापक्रम सोमबार ३ डिग्री थियो। मंगलबार २.८ डिग्री छ। 

null

यस वर्ष काठमाडौँको न्यूनतम तापक्रम सबैभन्दा तल्लो विन्दु २.४ सम्म पुगेकाले अहिले धेरै घटेको भन्न नमिल्ने मौसमविद् डेभिड ढकाल बताउँछन्। मौसम विभागको प्रारम्भिक अध्ययनले चीनबाट फैलिएको डढेलोको धुवाँले नै यहाँको मौसममा असर गरेर चिसो भएको भनेर अध्ययनले नदेखाएको उनको भनाइ छ। 

ढकालले भने, “हिउँदमा यस्तो किसिमको मौसम देखिने गर्छ। हिजो र आजको मौसम डढेलोकै कारणले धुम्मिएर चिसो भएको भन्न सकिने अवस्था छैन। सामान्य प्रदूषणको मात्रा बढेर यस्तो भएको हुनसक्छ।”

मौसमविद् ढकालका अनुसार, सोमबार माथिल्लो वायुमण्डलमा बादल देखिएको थियो। मंगलबार भने बादल देखिएको छैन। सोमबार देखिएको बादल प्रदूषणको कारणले पनि हुनसक्ने अनुमान विभागको छ। यसमा विभागको अध्ययन जारी रहेको उनले बताए।

काठमाडौँमा हरेक वर्ष देशभरका जंगलमा लागेको डढेलोको धुवाँ आएर प्रदूषण गराउने अध्ययनले देखाएको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलसहितले गरेको ‘जलवायु परिवर्तनको सन्दर्भमा नेपालमा वन डढेलोको पूर्वानुमान र भविष्यवाणी’ शीर्षकको अध्ययनले डढेलोले उपत्यकाको प्रदूषण बढाउने देखाएको छ। नजिकका  वनमा लाग्ने डढेलोको धुवाँ काठमाडौँ उपत्यकामा आइपुग्ने देखिन्छ।

यो धुवाँसँगै पीएम २.५ जस्ता सूक्ष्म कण र अन्य हानिकारक प्रदूषण पनि उपत्यकामा आइपुग्छन्। यहीकारण हिउँद लागेर प्रि–मनसुन नभित्रिँदासम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर अत्यन्त खराब हुन्छ। अत्यधिक प्रदूषण हुने दिनमा पीएम २.५ को मात्रा औसत १०० माइक्रोग्राम प्रतिघन मिटरभन्दा माथि पुग्ने गरेको छ।