कांग्रेस विशेष महाधिवेशन: निर्वाचन तालिका परिमार्जन, मतदान भोलि मात्रै

मङ्गलबार बेलुकी साढे ७ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने र मतदान बुधबार गर्ने गरी कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका परिमार्जन गरिएको छ।

काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यतालिका परिमार्जन गरिएको छ। परिमार्जित तालिकाअनुसार मंगलबार बेलुकी साढे ७ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ भने मतदानको प्रक्रिया बुधबारबाट मात्रै शुरू हुने भएको छ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार मनोनयन दर्ताबाहेकका अन्य सबै प्रक्रिया भोलिका लागि सारिएको छ। यसअघि मंगलबार राति ९ बजेदेखि मतदान शुरू हुने कार्यतालिका सार्वजनिक भएको थियो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलपछि समितिले कार्यतालिका परिमार्जन गर्ने निर्णय लिएको हो।

यता, पार्टीभित्रको विवाद मिलाउन दुई पक्षबीच शुरू भएको वार्ता अझै जारी छ। उता, पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको केन्द्रीय कार्यसमितिको बैठक भने अहिलेसम्म शुरू हुन सकेको छैन।

संस्थापन पक्ष (सभापति शेयरबहादुर देउवा समूह)का नेताहरूले विधानविपरीत विशेष महाधिवेशन आयोजना गरेको भन्दै महामन्त्रीद्वय थापा र शर्मा लगायतका नेताहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। 

अर्कोतर्फ, विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले भने कुनै पनि बहानामा निर्वाचन प्रक्रिया नरोक्न र छिटो मतदान शुरू गर्न दबाब दिएका छन्।