सिमलतालमा हराएको गणपति डिलक्सको बस त्रिशूली किनारमा फेला

सिमलताल पहिरोमा परी हराएको गणपति डिलक्स बस तनहुँको आँबुखैरेनी नजिकै त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेको छ।

तस्वीर : सागर गिरी / रासस

काठमाडौँ– त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित द्वोन्द्राङ बेँसीनजिकै नदी किनारमा बालुवाले पुरिएको अवस्थामा बसका पार्टपुर्जा फेला परेका हुन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले खोजीका क्रममा गणपति डिलक्स लेखिएको गाडी फेला पारेका हो।

२०८१ असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स सिमलतालमा खसेको पहिरोसँगै त्रिशूलीमा बेपत्ता भएका थिए।

गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाउन सफल भएका थिए भने बाँकी २८ जना बेपत्ता भएका थिए। खोजीका क्रममा हालसम्म १४ जनाको शव फेला परे पनि अन्य यात्रु र बसको अवस्था अज्ञात छ।