कांग्रेस कार्यसमिति बैठक बुधबारलाई सर्‍यो

मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहानसम्मका लागि सारिएको छ।

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधर समूहबीचको विवाद सुल्झिन नसक्दा मंगलबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहानसम्मका लागि सारिएको छ। दुई पक्षबीच सहमतिका लागि भएका वार्ताहरू निष्कर्षविहीन भएपछि बैठक मंगलबारका लागि स्थगित गरिएको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ८ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक शुरूमा दिउँसो १ बजेलाई सारिए पनि आन्तरिक तयारी र विवाद सुल्झाउन थप समय आवश्यक देखिएपछि भोलिलाई तय गरिएको हो।

पार्टीभित्रको विवाद मिलाउन मंगलबार चार घण्टासम्म चलेको दोस्रो चरणको वार्ता पनि बिना निष्कर्ष टुंगिएको थियो। वार्तामा सहभागी नेता प्रदीप पौडेलका अनुसार सहमतिको प्रयास जारी रहेकाले मंगलबार पुनः अर्को चरणको छलफल गर्ने तयारी छ। यसअघि दिउँसो भएको पहिलो चरणको वार्ता पनि निष्कर्षविहीन बनेको थियो।