गगन र विश्वप्रकाशलाई ५ वर्षका लागि कारबाही गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय

भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकै बेला कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन र विश्वप्रकाशसहितका नेताहरूलाई ५ वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका महामन्त्रीलगायतका नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। भृकुटीमण्डपमा सोमबारदेखि शुरू भएको बन्दसत्र बुधबार तेस्रो दिन पनि जारी रहँदा, अर्कोतर्फ संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत कारबाहीको निर्णय गरेको हो।

बुधबार अपराह्न केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले पार्टीको विधान र मर्यादाविपरीत समानान्तर गतिविधि गरी विशेष महाधिवेशन आह्वान गरेको भन्दै महामन्त्री थापा र शर्मासहित सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ। “उहाँहरूलाई आजैका मितिदेखि लागू हुने गरी ५ वर्षका लागि निष्कासित गरिएको हो,” उनले भने।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशनमा सहभागी भएका अन्य नेता तथा कार्यकर्ताहरूलाई भने मूलधारमा फर्किन बैठकले आग्रह गरेको छ। “भ्रम वा लहैलहैमा लागेर पार्टी हितविपरीत कार्यमा सहभागी भएका अन्य साथीहरूलाई आफ्नै नियमित जिम्मेवारीमा फर्कन आह्वान गरिएको छ,” विश्वकर्माले भने। उनले पार्टीभित्र भइरहेका वार्ताका प्रयास पनि पूर्ण रूपमा बन्द भएको बताए।

यसअघि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच पटक-पटक वार्ता भए पनि ती निष्कर्षविहीन बनेका थिए। बुधबार बिहान पनि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय थापा तथा शर्माबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो। पार्टीभित्रको विवाद सुल्झाउनका लागि विशेष महाधिवेशन पक्षले यसअघि पटक–पटक निर्वाचन तालिकासमेत परिमार्जन गर्दै आएको थियो।

यता, कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन समितिको संशोधित कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो सार्वजनिक गरेको नयाँ तालिकाअनुसार मतदान बुधबार राति ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

यसअघि बिहान ११ बजे मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिका कार्यक्रमहरू अन्योलमा थिए। संशोधित तालिकाअनुसार बेलुकी ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्मको समय दिइएको छ भने ५:०५ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी फिर्ताका लागि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ भने साँझ ६ बजे अन्तिम नामावली सार्वजनिक गरिने समितिले जनाएको छ।