आयोगको निर्णय मान्य छैन, कानूनी प्रक्रियामा जान्छौँ : पूर्णबहादुर खड्का

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त निर्णय मान्य नहुने र आफूहरू कानूनी प्रक्रियामा जाने बताएका छन्।

काठमाडौँ– निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त निर्णय मान्य नहुने र आफूहरू कानूनी प्रक्रियामा जाने बताएका छन्।

शुक्रबार साँझ आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ‘पूर्वतयारी’अनुसार यस्तो निर्णय आएको भन्दै कानूनी बाटो रोज्ने बताएका हुन्।

आयोगको निर्णय सार्वजनिक भएलगत्तै देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले आयोग परिसरबाहिर नाराबाजीसमेत गरेका छन्। अर्का नेता डा. प्रकाशशरण महतले पनि आयोगको निर्णय स्वीकार्य नभएको बताउँदै कानूनी उपचार खोजिने धारणा राखे।

यसअघि शुक्रबार नै सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता खड्काले आयोगले आफ्नो पक्षमा निर्णय नगरे देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।

आयोगले शुक्रबार साँझ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको नयाँ कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको थियो। विशेष महाधिवेशन पक्षले पुस ३० गते महाधिवेशन सम्पन्न भएपछि बिहीबार विवरण अद्यावधिका लागि आवश्यक कागजातसहित आयोगमा निवेदन पेश गरेको थियो।