मकालु आरोहणका क्रममा एक शेर्पाको मृत्यु, इरानी आरोही बेपत्ता

विश्वको पाँचौँ अग्लो मकालु हिमाल सफल आरोहण गरी फर्कने क्रममा एक नेपाली आरोहीको मृत्यु भएको छ भने एक इरानी पर्वतारोही बेपत्ता भएका छन्।

काठमाडौँ– विश्वको पाँचौँ अग्लो हिमाल मकालु (८,४८५ मिटर) सफल आरोहण गरी फर्कने क्रममा एक शेर्पा आरोहीको मृत्यु भएको छ भने एक इरानी पर्वतारोही बेपत्ता भएका छन्।

मकालु एडभेन्चर टोलीका सदस्य फुर्वा ओङ्गेल शेर्पाको करिब ७ हजार ५०० मिटर उचाइ (क्याम्प–४ माथि) बाट लडेर मृत्यु भएको हो। सोही क्रममा इरानी पर्वतारोही अबोल्फजल गोजाली क्याम्प–४ नजिकैबाट बेपत्ता भएका छन्।

बिहीबार बिहान १०ः२७ बजे सानु शेर्पा, अबोल्फजल गोजाली, फुर्वा ओङ्गेल शेर्पा र लाक्पा रिन्जी शेर्पाले मकालुको सफल आरोहण गरेका थिए। शिखरबाट ओरालो झर्ने क्रममा उनीहरू दुर्घटनामा परेको पेमा शेर्पाले जानकारी दिए।

घटनालगत्तै ‘एटके एक्सपिडिसन’ले उद्धार कार्य शुरू गरेको छ। कम्पनीका अध्यक्ष पेम्बा शेर्पाका अनुसार फुर्वा ओङ्गेलको शव निकाल्न चार अनुभवी शेर्पा उद्धारकर्ताहरू—अशोक लामा, पासदावा शेर्पा, आङ छिरिङ शेर्पा र पासाङ तेन्जी शेर्पालाई परिचालन गरिएको छ।

मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले घटनाको पुष्टि गर्दै आधार शिविरमा रहेका अन्य आरोहीहरूलाई पनि खोज तथा उद्धारमा खटाइने बताएका छन्।