पार्टी छाडेकाहरूलाई पुनः कांग्रेसमा फर्कन आह्वान

कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देश–विदेशमा रहेका सबै कांग्रेसीहरूलाई नवीन ऊर्जाका साथ आगामी फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकाहरूलाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ। पार्टी सभापति गगन थापाको नेतृत्वमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले अलग भएका सबैलाई पार्टीमा पुनः आबद्ध हुन आह्वान गरेको हो।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा बैठकले आयोगप्रति आभार व्यक्त गरेको छ।

बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देश–विदेशमा रहेका सबै कांग्रेसीहरूलाई नवीन ऊर्जाका साथ आगामी फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ।

यस्तै, बैठकले पूर्वसभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूले पार्टी नेतृत्वमा रही लामो समयदेखि पुऱ्याएको योगदानको उच्च कदर गर्दै धन्यवादज्ञापन गरेको छ। साथै, उनीहरूबाट भविष्यमा पनि पार्टीका लागि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास बैठकले व्यक्त गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले भविष्यमा कुनै पनि दलसँग अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने निर्णयसमेत गरेको छ।