निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण र राजीनामाको निस्सासहित १३ प्रकारका कागजात पेश गर्नुपर्ने जानकारी गराएको छ।
काठमाडौँ— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने स्पष्ट पारेको छ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ माघ ६ गते हुने मनोनयनपत्र दर्ताका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि र कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उम्मेदवारी दिँदा संघीय, प्रदेश वा स्थानीय सरकार तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तीनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्ने उनले बताए।
उम्मेदवारले प्रतिनिधि तोकी मनोनयनपत्र दर्ता गर्ने भएमा 'प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२' को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुपर्नेछ। यसैगरी प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा 'प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४' को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ।
दलका तर्फबाट उम्मेदवारी दिएको भए मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको निर्देशिकाको अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ। एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा अनुसूची ८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि समावेश गर्नुपर्नेछ।
निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ। तर, महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने प्रवक्ता भट्टराईले बताए। विपन्नका हकमा स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि समावेश गर्नुपर्नेछ।
उम्मेदवारले निर्देशिकाको दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल-अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, ऋण लेनदेनको सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्नेछ।
यस्तै, निर्देशिकाको दफा २२ सँग सम्बन्धित अनुसूची १० बमोजिम भरिएको वैयक्तिक विवरण फारम, निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए फर्स्योट भएको व्यहोराको निस्सा संलग्न गर्नुपर्नेछ। लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए फर्स्योट गरेको निस्सा र 'निर्वाचन आचारसंहिता, २०८२' को अनुसूची ३ बमोजिमको प्रतिबद्धतापत्र पनि समावेश गर्नुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
