जनकपुरधाममा भएको ‘परिवर्तन उद्घोष सभा’ रास्वपा प्रवेशपछि बालेनका लागि पहिलो औपचारिक कार्यक्रम थियो, जहाँ सेतो र कालो मिश्रित पोसाकमा देखिएका उनलाई नेताहरूले ‘नायक’का रूपमा चित्रण गरे।
जनकपुरधाम– काठमाडौँ महानगर प्रमुखका रूपमा सक्रिय हुँदा प्रायः कालो पोसाकमा देखिने रास्वपा वरिष्ठ नेता बालेन शाह सोमबार बिहान भने सेतो कुर्तासुरुवालमा देखिए। सोमबार काठमाडौँबाट जनकपुर ओर्लिएका उनी बिहानै जनकपुरस्थित रामजानकी मन्दिरमा पूजा गर्न निस्किँदा कुर्तासुरुवालमा थिए। तर उनको अस्टकोट र टोपी भने कालै थियो।
बिहान मन्दिरमा पूजा गरेपछि उनले त्यहाँका पुजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट गरे। त्यसपछि सिरहाको लहानस्थित शहीद रमेश महतोको सालिकमा माल्यार्पण गर्न पुगे। महतो मधेश आन्दोलनका प्रथम शहीद हुन् र सोमबार उनको १९औँ स्मृति दिवस हो।
लहान जाँदा पनि उनी उही सेतो कुर्तासुरुवाल र कालो अस्कोट तथा टोपीमा थिए। सोमबार रामजानकी मन्दिर दर्शन र शहीदको सालिकमा माल्यार्पण गरेर उनले चुनावी अभियान थालेका हुन्। यद्यपि, उनले मधेशबाट नभई झापा–५ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्।
चुनावी अभियान शुरू गर्न रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहितका नेता आइतबार नै जनकपुर पुगेका थिए। सोमबार उपसभापति स्वर्णिम वाग्लेसहित शिशिर खनाल, रिमा विश्वकर्मालगायत नेता जनकपुर पुगेका छन्। अर्का उपसभापति डीपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य सोबिता गौताम पनि जनपुरमा छन्।
रमेश महतो शहीद भएको दिन माघ ५ अर्थात् ‘बलिदानी दिवस’को अवसर पारेर जनकपुरबाट रास्वपाले चुनावी अभियान शुरू गरेको छ। जनकपुरधामको तिरहुतिया गाछीमा ‘परिवर्तन उद्घोष सभा’ गरेर अभियान अघि बढाएको हो। यो सभा नै रास्वपामा प्रवेशपछि बालेनको पहिलो औपचारिक कार्यक्रम भएको छ।
उनी आइतबार मात्र काठमाडौँ महानगरको प्रमुख पदबाट राजीनामा दिएर औपचारिक रूपमा रास्वपा प्रवेश गरेका थिए। उनले आइतबार नै वरिष्ठ नेताको पदभार ग्रहण गरेर सभापति लामिछानेसँगै कार्यक्रमका लागि जनकपुर आएका थिए।
रास्वपाको उक्त ‘परिवर्तन उद्घोष सभा’मा बोल्ने अधिकांशले ‘प्रधानमन्त्रीमा पहिलोपटक मधेशका छोरा’लाई अघि सारिएको बताएका थिए। अधिकांश नेताले बालेनलाई ‘नायक’का रूपमा चित्रित गर्दै मधेशसँगको सामिप्यता देखाउने प्रयास गरेका थिए।
सोमबार मात्र रास्वपा प्रवेश गरेका निवर्तमान सांसद अमरेशकुमार सिंहले पनि अबको प्रधानमन्त्री बालेनलाई बनाउन पनि रास्वपालाई भोट दिनुपर्ने बताएका थिए। उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले पनि बालेनलाई ‘मधेशबाट पहिलो प्रधानमन्त्री’का रूपमा मत मागेका थिए।
रवि लामिछाने भन्दा अगाडि बोलेको बालेनले संघीयताप्रति प्रतिबद्धता जनाउँदै प्रदेशलाई शक्तिशाली बनाउनुपर्ने बताए। मैथलीमा बोलेका उनले अहिले पनि काम गराउन काठमाडौँ जानुपर्ने अवस्था रहेको बताए।
उखु किसान र मिटरब्याजी पीडितहरूको आन्दोलनका बेला आफू काठमाडौँको मेयर हुँदा केही गर्न नसकेको स्वीकार गरे। आफू भाषणभन्दा काम गर्ने मान्छे भएको भन्दै 'मेरो काम हेर्ने हो?' भनेर प्रश्न गरेका थिए। उनले आफू चार वर्षपछि पहिलो पटक फुर्सदमा भएको पनि बताए। “मेयरको पदबाट राजीनामा दिएपछि पहिलोपटक फुर्सदमा छु र भाषण गरिरहेको छु,” उनले भने।
बालेनले आफू मधेशीको छोरो भएकाले मात्र घन्टीमा भोट नहाल्न बरु सही मान्छे आउने हुँदा भोट हाल्न आह्वान गरे। “अब सही सरकार बन्दैछ, सरकारमा काम गर्ने मान्छे जाँदैछन्, त्यसकारण घण्टीमा भोट हाल्नुस्,” उनले भने।
आफ्नो भाषण सकेपछि उनले घण्टी बजाएर माहोल तताएका थिए। मञ्चमा पनि उनले उही सेतो कुर्तासुरुवाल र कालो अस्टकोट र टोपीमा थिए। बोल्नका लागि पोडियममा आउनासाथ उनले औँलाको ‘भी’ देखाएर विजयको संकेत गरेका थिए। त्यसपछि ‘फ्लाइङ किस’को संकेत गरेर बोल्न शुरू गरेका थिए।
सभामा अन्तिम वक्ता रहेका सभापति लामिछानेले पनि बालेनलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारे। “अब बच्चालाई गोली हानेर हेलिकप्टरमा भागेको सरकारले कुनै दिन मलाई थुन्यो भने पनि मलाई चिन्ता छैन, किनभने यो देशले बालेन पाएको छ,” उनले भने।
कार्यक्रमका वक्ताले पटकपटक 'अब कि बार बालेन सरकार' लगाएका थिए। सभापति लामिछानेले पनि यही नाराका साथ आफ्नो भाषण सकाएका थिए।
सफल होला ‘बालेन कार्ड?’
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा पहिलोपटक सहभागी भएको थियो। त्यतिबेला प्रत्यक्षतर्फ सात र समानुपातिकमा १४ सिट जितेको थियो। पछि उपनिर्वाचनमा तनहुँबाट स्वर्णिम वाग्ले विजयी भएका थिए। २०७९ सालको चुनावमा बागमती प्रदेशमा मात्रै प्रभाव देखाएको रास्वपा आसन्न निर्वाचनमा देशैभर विस्तार हुन खोजिरहेको छ।
यसअघिको निर्वाचनमा मधेशमा रास्वपाको प्रभाव कम थियो। मधेश प्रदेशबाट प्रत्यक्षमा कुनै सिट नजिते पनि समानुपातिकमा एक लाख सात हजार ८४ मत प्राप्त गरेको थियो। यसपटक बालेनलाई अघि सारेर मधेशको मत आफ्नो पक्षमा पार्न खोजिरहेको छ।
मधेशका ग्रामीण क्षेत्रमा पार्टीको संगठन र आधार क्षेत्र केही कमजोर रहेको रास्वपाका एक नेता बताउँछन्। त्यसैले गर्दा बालेनलाई मधेशमा अघि सारेर माहोल बनाउन खोजिएको उनको भनाइ छ। ती नेता भन्छन्, “यो केवल बालेनलाई मात्रै अघि सार्न खोजिएको हैन। मधेशलाई हेर्ने पार्टीको नजर पनि गलत छैन है भनेर देखाउन खोजेका हौँ।”
विश्लेषक चन्द्रकिशोर रास्वपाले बालेनलाई अघि सारेर मताधार क्षेत्र फराकिलो बनाउन खोजिरहेको बताउँछन्। “हिजोसम्म रविको नेतृत्व हुँदा खसआर्य क्षेत्रमा मात्रै प्रभाव भयो। गण्डकी, लुम्बिनी, बागमतीजस्ता खसआर्यको सघन बसोबास क्षेत्र भएको ठाउँमा प्रभाव बढी थियो,” चन्द्रकिशोर भन्छन्, “बालेन्द्रमार्फत् प्रत्यक्ष र समानुपातिक मत विस्तार गर्न खोजिएको छ।”
यसअघि संघीयता र मधेश विरोधी भनेर आलोचित हुन पुगेका बालेनले जनकपुर पुगेर रामजानकी मन्दिरमा पूजा गर्नेदेखि आरती हेर्ने र शहीदको सालिकमा माल्यार्पण गरेर मधेशको भावनालाई अंगाल्न खोजेको धेरैको बुझाइ छ। त्यति मात्र नभई, काठमाडौँ प्रमुखका रूपमा औपचारिक कार्यक्रममा दौरासुरुवाल लगाएका र केही दिनअघि मात्र दौरासुरुवाल लगाएको नयाँ तस्वीर सामाजिक सञ्जालमा राखेका उनले मधेश झरेपछि कुर्तासुरुवाल लगाएका छन्।
यता, राजनीतिक विश्लेषक राकेश मिश्र बालेनको आगमनले मधेशको राजनीतिमा खासै प्रभाव नपर्ने दाबी गर्छन्। “दुईचार सिट तलमाथि होला, तर खासै फरक पर्छ जस्तो लाग्दैन,” उनी भन्छन्, “रास्वपाले पनि अहिले मधेशी समुदायमा आफ्नो उपस्थिति देखाउन बालेनलाई अघि सारेको हो।”
मधेशी पात्रको प्रयोग विभिन्न राजनीतिक समूहले विगतमा पनि गरेको भन्दै मिश्रले यसपटक रास्वपाले बालेनलाई अघि सारेर त्यही गर्न खोजेको बताए। विगतमा मधेशका मुद्दा उठाएकाहरूले पनि खासै फरक पार्न नसकेको अवस्थामा युवाहरू अघि बढ्दा मतदाताले परिवर्तन खोज्नु स्वभाविक हुने उनको भनाइ छ।
बागमतीपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र मधेश प्रदेशमै छन्। यहाँका आठ जिल्लामा ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा ३६ लाख ३६ हजार ४१४ मतदाता छन्। प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशमा दुई हजार १६० वटा मतदानस्थल र चार हजार ४७१ वटा मतदान केन्द्र तोकिएको छ।
के भन्छन् मतदाता?
बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर रास्वपाले मधेशबाट चुनावी अभियान थालेपछि यहाँको चुनावी माहोल तातिएको छ। सोमबार जनकपुरको शिवचोकस्थित चिया पसलमा बालेनकै चर्चा भइरहेको थियो। त्यहाँ चिया पिउँदै गरेका रोशन कर्ण भन्दै थिए, “ठूला दलदेखि मधेशका दललाई पनि हेरिसक्यौँ, यसपटक रास्वपालाई हेर्नुछ।”
बालेन काठमाडौैँ महानगर प्रमुख हुँदा राम्रो काम गरेको र उनी रास्वपाबाट चुनाव लड्ने भएपछि सबैले चासोका साथ हेरिरहेको कर्णले बताए। “मैले कांग्रेस, एमाले र मधेशवादी दललाई मत दिएर हेरेकै हुँ,” उनले भने, “यसपटक बालेनको दललाई परीक्षण गर्नुपर्छ कि भनेर हेरिरहेको छु।”
सोमबार बिहान जनकपुरका विभिन्न चोकका चिया पसल र सार्वजनिक ठाउँमा पुग्दा बालेनकै चर्चा भइरहेको थियो। त्यसको एउटै कारण हो, भावी प्रधानमन्त्रीका रूपमा सारिएका बालेन मधेशी समुदायको हुनु।
बालेनको पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा हो। उनको हुर्काइबढाइ सबै काठमाडौँमा भएको थियो। तर उनले र रास्वपाले चुनावी अभियान मधेशबाट शुरू गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठ अहिले मधेशमा रवि र बालेनलाई मतदाताले हेरिरहेको बताउँछन्। “मानिसले परिवर्तन चाहेको छ। नयाँ पुस्ता खोजिरहेको छ। २०४६ सालको परिवर्तनपछि दलहरूले विकास दिन सकेनन्,” उनी भन्छन्, “त्यसैले पनि धेरैले नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ भनेर मत बदल्न चाहिरहेका छन्।”
महोत्तरीका सतिश मिश्र पनि बालेनले काठमाडौँ महानगरमा गरेको कामबाट प्रभावित भएको बताउँछन्। “मतपेटिकामा मत कसरी खस्छ त्यो त पछि थाहा होला। तर अहिले बालेन र रविको चर्चा धेरै छ,” उनले भने, “यहाँका मतदाताले पनि केही परिवर्तन खोजिरहेको देखिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
