दुर्गा प्रसाईं पोखराबाट प्रहरीको नियन्त्रणमा

कास्की प्रहरीले दुर्गा प्रसाईंलाई पोखराबाट नियन्त्रणमा लिएको छ।

फाइल तस्वीर

पोखरा– प्रहरीले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको छ। कास्की प्रहरीले उनलाई सोमबार अपराह्न पोखराको एयरपोर्ट चोकबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध भ्रामक सूचना प्रवाह गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार प्रसाईंलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

प्रसाईंले निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लेनदेन गरी कांग्रेसको विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको भन्दै विवादास्पद दाबी गरेका थिए। उक्त दाबी आधारहीन र भ्रामक रहेको उल्लेख गर्दै निर्वाचन आयोगले प्रसाईंलाई अनुसन्धान गरी कानूनी दायरामा ल्याउन आइतबार नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो।