प्रतिनिधिसभामा उम्मेदवार बन्न बागमती प्रदेशसभाका ६ सदस्यको राजीनामा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन बागमती प्रदेशसभाका ६ जना सदस्यले सोमबार पदबाट राजीनामा दिएका छन्।

बागमती – बागमती प्रदेशसभाका ६ जना सदस्यले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरूले सोमबार राजीनामा दिएका हुन्। प्रतिनिधिसभा सदस्यका लागि भोलि मनोनयन दर्ता हुँदै छ।

सोमबार साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का युवराज दुलाल र नेकपा (एकीकृत समाजवादी) का वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनील केसीले राजीनामा दिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

काफ्लेले प्रदेशसभा सचिवालयमै पुगेर उपसभामुख अप्सरा चापागाईँसमक्ष राजीनामा बुझाएका छन् भने मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले सचिवालयको इमेलमार्फत राजीनामा पठाएको सचिव पौडेलले बताए।

राजीनामा दिएका मास्केले प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ६ मा टिकट पाएका छन्। यसैगरी, दुलालले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट टिकट पाएका छन्। प्रदेशसभा सदस्यहरूको राजीनामा पत्र सचिवालयमा दर्ता भई स्वीकृतिको प्रक्रिया अघि बढेको सचिव पौडेलको भनाइ छ।